विराटनगरमा ३० करोडको लागतमा कारागार भवन बनाइँदै


२९ श्रावण २०७८, शुक्रबार
punnirman

मोरङ, २९ साउन । मोरङको विराटनगर महानगरपालिकाको हाट खोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण गर्न लागिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधीन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी हुन नहुनेमा जोड दिए ।

मूल्य अभिवृद्धि करबाहेक रु ३० करोड ८३ लाखको लागतमा निर्माण गर्न लागिएको सो भवन आशिष, आशीर्वाद, स्वामी नारायण जेभीले बोलपत्र कबुल गरेको छ । विसं २०८० पुस २४ गतेभित्र निर्माण गरिने सो भवन ३६ हजार ८८३ वर्ग फिटको हुने सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।

कूल १० कठ्ठा १० धुर जग्गामा निर्माण गर्न लागिएको सो भवनमा महिला र पुरुष कैदी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन, कारागार प्रमुख, चमेना गृह र आगन्तुकका लागि अलग–अलग कक्ष रहने छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको थियो ।

हाल जिल्ला कारागार भएकै ठाउँमा बन्ने सो भवनमा महिला कैदीका लागि ८८ शैंया र पुरुष कैदीका लागि २५० शैंया हुनेछ । हाल पुरानो कारागारमा ७१ महिलासहित ९२९ कैदीबन्दी रहेको कारागार प्रशासनका कर्मचारी रामप्रसाद पोखरेलले जानकारी दिए । नयाँ भवन बनेपछि पनि पुरानो भवनलाई कैदीबन्दीकै लागि प्रयोग गरिने भएको छ । कारागारको कूल क्षेत्रफल तीन बिघा जग्गा छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नयाँ भवन कैदीबन्दीका लागि निकै सहज हुने बताए निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीले राज्यले लगानी गरेको यस प्रकारको भौतिक सम्पत्तिमा कुनै कमी हुन नदिने र निर्धारित समयमै भवन निर्माण गरिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७