‘हिमक्षेत्रमा अत्यधिक वर्षा, पहिरो र कटानले मेलम्ची ठूलो क्षति’


२९ श्रावण २०७८, शुक्रबार
melamchi head badhi 6

सिन्धुपाल्चोक, २९ साउन । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बजार क्षेत्रमा अत्यधिक वर्षा र पहिरोका कारण नदी कटान हुँदा क्षति पुगेको निष्कर्ष खानि तथा भूगर्भ विभागले निकालेको छ ।

गत असार १ र साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले यस्तो निष्कर्ष निकालेको हो । विभागले अत्यधिक वर्षा र वर्षापछिको पहिरोले उक्त क्षति पुगेको निष्कर्ष निकालेको हो ।
विभागका सिनियर डिभिजनल जियोलोजिस्ट एवं उपसचिव शिवकुमार बाँस्कोटा र जियोलोजिस्ट गौतमप्रसाद खनालको टोलीले यही साउन २२ देखि २५ गतेसम्म मेलम्ची र हेलम्बुल क्षेत्रमा भौगर्भिक अध्ययनबाट उक्त निष्कर्ष निकालेको हो ।

असार १ गतेको अत्यधिक वर्षापछि हेलम्बु गाउँपालिकाको पेमदाङ खोला र मेलम्ची खोलाको दोभानबाट शुरु भएको बाढी मेलम्ची खोलामा जम्मा भई पहिराको लेदो र पानी मिसिँदा किनारा थप कटान भएको टोलीको निष्कर्ष छ ।

खोलाले थप विकसित रूप लिँदै जाँदा मेलम्ची र त्यस आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको विभागका सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटा बताउँछन् । मेलम्ची बजार हुँदै बग्ने इन्द्रावती, मेलम्चीखोला, पेमदाङखोला, लार्केखोला र याङ्रीखोला सबै हिमाल मूलश्रोत भएका हुन् । ती खोलामा बाढी आउँदा मेलम्ची बजारसँगै चनौटे बजार, हेलम्बु गाउँपालिकाको केन्द्र किउल बजार, अम्बाथान, तिम्बु, ग्याल्थुममा बढी क्षति पुगेको जियोलोजिस्ट बाँस्कोटाले बताए ।

असार १ गतेकै वर्षाका कारण पेमदाङखोलामा आएको बाढीले हेलम्बुको भेमाथाङ चौरमा १० मिटर अग्लो ग्रेगान भरिएको थियो । उक्त गेग्रान एक करोड घनमिटर रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ । भेमाथाङ चौर एक हजार ५०० मिटर लम्बाइ र ७०० मिटर चौडाइको छ ।
‘उक्त चौरमा १० मिटर अग्लो ग्रेगान भरिँदा त्यस क्षेत्रमा कति ठूलो वर्षा र बाढी आएको रहेछ भन्ने स्पष्ट हुन्छ’, सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटाले भने ।

असार १ गते गेग्रानले भरिएको भेमाथाङ चौर साउन १६ गतेको वर्षाले कटान भएको छ । भेमाथाङ चौरको १०० मिटर क्षेत्रफल कटान हुँदा मेलम्चीमा साउन १६ गते फेरि ठूलो बाढी आएको बाँस्कोटाले बताए । मेलम्ची बजारमा क्षति हुनाको अर्को कारण इन्द्रावती नदी पनि हो । इन्द्रावतीमा याङ्रीखोला र लार्केखोलाको पानी थपिएपछि बाढी आउँदा थप क्षति पुगेको खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले देखाएको छ ।

विभागका महानिर्देशक रामप्रसाद घिमिरे मेलम्ची र हेलम्बुमा गरिएको भौगर्भिक अध्ययनबाट आएको निष्कर्षलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बुझाउने बताए ।

‘मेलम्ची र हेलम्बु क्षेत्रको भौगर्भिक अध्ययन मात्र नभएर सबै क्षेत्रको अध्ययन गर्नु जरुरी छ’, उनले भने, ‘जुन अध्ययनले आगामी दिनमा यस्ता घटना नदोहोरियुन् ।’ असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु र मेलम्चीमा एक दर्जनभन्दा बढी व्यक्तिले ज्यान गुमाए भने अर्बौ रकम बराबरको भौतिक संरचनामा क्षति पुग्यो ।

उक्त बाढीले मेलम्ची र हेलम्बु जोड्ने तथा अन्य ठाउँको झण्डै एक दर्जन पक्की तथा कच्ची पुलमा क्षति पु¥यायो । उक्त बाढीसँगै मेलम्ची खोला वरपरका सयौँ घर जोखिममा रहेका छन् । सरकारले मेलम्चीको भौगर्भिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागबाट दुई जनाको टोली खटाएको थियो । त्यस क्षेत्रको विपद् जोखिम अध्ययनका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीन जना कर्मचारी खटिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७