नेपाल पक्षको आन्तरिक जटिलताले सरकारको पूर्णतामा ढिलाइ : विश्वप्रकाश शर्मा


२९ श्रावण २०७८, शुक्रबार
bishwo2021 08 13 05 59 59

काठमाडौं, २९ साउन । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलताका कारण सरकारले पूर्णता पाउन नसकेको बताएका छन् ।

आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले वर्तमान सरकारको एक पिल्लर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता रहेको उल्लेख गर्दै नेपाल पक्ष एउटा टुङ्गोमा पुगेपछि सरकारले पूर्णता पाउने बताए ।

उनले भने, ‘यो सरकार बन्दै गर्दा चार वटा पिल्लर खडा छ । त्यसमध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नु भएको एमालेको छ । उहाँहरुको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरु रहेको बेलामा उहाँहरु एउटा टुंगोमा पुगिसकेपछि स्वाभाविक छ कि सरकार गठनको पूर्णताको प्रक्रियाले मार्ग प्रशस्त प्राप्त गर्छ ।’

आज (शुक्रबार) को कांग्रेस वैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका परिमार्जनको सम्बन्धमा आ–आफ्नो धारणा राखेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । आजको बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, धनराज गुरुङ, मिनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्याम कुमार घिमिरे, रामकृष्ण यादव, किरण शर्मा पौडेल, उमाकान्त चौधरीलगायतले आफ्नो धारणा राखेको उनले जानकारी दिए ।

बैठकपछि १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिका आउने उनले बताए । बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रुपमा धारणा निर्माण हुने उनले उल्लेख गरे । बैठकमा केन्द्रीय निर्वाचन समितिबाट प्रस्तावित भएर आएको निर्वाचन निर्देशिकामाथि पनि छलफल चलिरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७