प्राधिकरण मोरङद्वारा विद्युतको कंक्रिट पोल उत्पादन शुरु


२९ श्रावण २०७८, शुक्रबार
pol

मोरङ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतको कंक्रिट पोल उत्पादन थालेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कंक्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन शुरु गरेको हो ।

प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन हुनेछन् । १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ । इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रुपमा पूर्ण क्षमतामा पोल उत्पादन शुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए ।

उनले प्लान्टबाट पोल उत्पादन शुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने उल्लेख गरे । आयोजना प्रमुख परमार धीरसेनका अनुसार कोभिड–१९ महामारीको नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा र भारतबाट मालसामान तथा प्राविधिक आउन ढिलाई हुँदा परीक्षण उत्पादन निर्धारित समयभन्दा ढिलो भएको हो ।

उनले परीक्षण उत्पादनमा प्राविधिक समस्या नआएमा प्लान्ट केही दिनपछि पूर्ण क्षमतामा चल्ने जानकारी दिए । प्लान्टबाट उत्पादित पोलहरू मुख्य रुपमा प्रदेश नं १ र र २ का जिल्लाहरुमा आपूर्ति गरिने छ । प्राधिकरणले अहिले तनहुँको कोत्रे र पर्साको अमलेखगञ्जबाट कंक्रिट पोल उत्पादन गर्दै आएको छ भने कैलालीको लम्कीमा प्लान्ट निर्माणाधीन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७