नेपाल पक्ष नयाँ दल गठनको गृहकार्यमा


३० श्रावण २०७८, शनिबार
madhav nepal

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रूपमा अघि बढेको नेपाल पक्षको विश्लेषण छ ।

नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओलीपक्ष एकलौटी रूपमा अघि बढेपछि आफूहरूसँग नयाँ दल गठनको विकल्प नभएको बताए । आफूहरूको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै उनले ओली पक्षले एकताका लागि ढोका नै बन्द गरेको आरोप लगाए । नेपाल पक्षका अधिकांश सांसद नयाँ पार्टी गठन गरी सरकारमा जानुपर्ने अडानमा छन् । ओली पक्षले भने नेपाल पक्षका अधिकांश सांसदलाई पार्टीको भन्दा सत्ताको बढी मोह भएको आरोप लगाएको छ ।

ओली पक्षबाट पार्टी कब्जा गरेर मनोमानी रूपमा विधान संशोधन गर्दै सबै अधिकार अध्यक्षमा केन्द्रित गर्ने प्रयास भएको उनले बताए । तर, पनि आफूहरू अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहेको र पहल जारी राख्ने उनले बताए ।

अन्तिम अवस्थामा पार्टी एकताबद्ध नभएको अवस्थामा छुटै दल गठन गरेर अघि बढ्नुको अर्को विकल्प नभएको खतिवडाले बताए । ओली पक्षका नेताहरूले भने नेपाल पक्ष पार्टी एकतामा कहिल्यै पनि गम्भीर नरहेको र नयाँ पार्टी खोल्ने बहाना खोजिरहेको बताएका छन् ।
राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७