कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि, कहिलेका लागि तोकिएला महाधिवेशन ?


३० श्रावण २०७८, शनिबार
congress central samiti

काठमाडौं, ३० साउन । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) पनि बस्दैछ । शनिबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसमितिको बिहीबारदेखि जारी रहेको छ । पौडेलका अनुसार बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । महाधिवेशनका लागि निर्वाचन निर्देशिका आवश्यक रहेकोले त्यसबारे पनि केन्द्रीय समितिमा छलफल भइरहेको छ ।

सत्तासीन कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद देखिएको छ । सभापति देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । शुक्रबारको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक महिनासम्म मन्त्रिमण्डल विस्तार नहुँदा कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रश्न उठेको छ । केन्द्रीय सदस्यहरुले महिना दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रधानमन्त्री एवम् सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सरकारका काम कारबाहीमा प्रभाव परेकोतिर ध्यानाकर्षण गराए । कोइरालाले मन्त्रिपरिषद् विस्तारमा गरेको ढिलाइबारे बोल्दै, ‘तपाईं प्रधानमन्त्री भएको एक महिना भयो । १५ मन्त्रालय नेतृत्वविहीन छ । यस्तो अवस्थाले कसरी सरकार सञ्चालन गर्नहुन्छ ?’ कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामुहिक राजीनामाको घोषणा गरेका छन् । कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार दिउँसो राजीनामा घोषणा गरेका हुन् ।

पाँचौं पटक निर्धारित मिति भदौ १६–१९ मा पनि कांग्रेसले महाधिवेशन गर्न नसक्ने अवस्था देखिएको छ । सभापति देउवाले भदौमा निर्धारित महाधिवेशन सारेर मंसिरको नयाँ मिति बिहीबारको बैठकमा प्रस्ताव गरेका थिए । भदौमै महाधिवेशन नगर्दा पार्टीको वैधानिकतामाथि प्रश्नचिह्न खडा हुने कानुनविद्हरुले बताउँदै आएका छन् । संविधानअनुसार साढे पाँच वर्षमा प्रदेश र केन्द्रीय कार्यसमितिको चुनाव गरेर त्यसको विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ । आगामी २३ भदौमा कांग्रेसको १३ औं महाधिवेशन भएको साढे पाँच वर्ष पूरा हुन्छ । २३ भदौपछि कांग्रेसको वैधानिकता के हुने भन्ने प्रश्न पनि अर्कोतिर छँदैछ ।

केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकले सभापतिमा उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँदेखि वडा सदस्यको १ सय रुपैयाँ शुल्क प्रस्ताव गरेको छ । बैठकमा कांग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनम उम्मेदवारी दिनका निम्न शुल्क प्रस्ताव गरिएको छ ।

मनोनयनदर्ता शुल्क, सभापति ३० हजार, उपसभापति तथा महाममन्त्री २५ हजार, सहमहामन्त्री २० हजार, केन्द्रीय सदस्य १० हजार, प्रदेश महाधिवेशन प्रतिनिधि ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधि ५ हजार, केन्द्रीय सदस्य ७ हजार, वडा सदस्य १ सय शुल्क प्रस्ताव गरिएको हो ।

कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ–नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७