श्रीमतीलाई आगो लगाई हत्या गर्ने युवकलाई आजीवन कारावासको फैसला


३० श्रावण २०७८, शनिबार
jel 1
सांकेतिक तस्वीर

सिरहा, ३० साउन । सिरहाको औरही गाउँपालिकाका एक युवकलाई आजीवन कारावासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला गरेको हो ।

विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो । जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको छ । गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैले श्रीमतीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं सिफारिस गरिएको थियो ।

काठमाडौंको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि गत माघ १२ गते बिहान अनिताको मृत्यु भएको थियो । मृतकका बुबा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोद विरुद्ध किटानी जाहेरी दिएका थिए । माघ ११ गते पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

आठ वर्षपछि फरार पक्राउ
भ्रष्टाचार मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाई फरार नवराजपुर गाउँपालिका–१ का ४६ वर्षीय नगेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीलाई रु ५० हजार घुस लिँदालिँदै गत २०६८ फागुन १७ मा काठमाडौंमा पक्राउ गरेको थियो । यतिबेला यादव रु ५० हजार धरौटीमा छुटेका थिए । यसपछि विशेष अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको ठहर गर्दै एक महिना २० दिन कैद र रु ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको आदेशलगत्तैबाट फरार यादवलाई फैसला कार्यान्वयन गर्न अदालतको निर्देशनअनुसार खोजबिन गर्ने क्रममा करिब आठ वर्षपछि पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

यस्तै प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले स १ ह ६२५ नम्बरको सिटी रिक्सा जाँच गर्ने क्रममा रिक्साको पछाडि सिटमुनि कालो प्लाष्टिकको झोलामा लुकाइ राखिएको लागुऔषध सहित सखुवानन्कारकट्टी गाउँपालिका–३ परिहारपुर निवासी ३० वर्षीय घुरन यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीको साथबाट फेनारगन ९७ एम्पुल, नोफिन ९७ एम्पुल, डाइजिल्याप ९७ एम्पुल लागुऔषध बरामद भएको प्रनाउ बुढाथोकीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७