एमाले अब एकता र विभाजनको दोबाटोमा : माधव नेपाल


३० श्रावण २०७८, शनिबार
madhav nepal

काठमाडौं, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् ।
आज (शनिबार) बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए । ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उनले स्पष्ट पारे ।

नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको बताए । उनले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरे । उनले भने–‘हुँदा हुँदा अहिले पार्टीको विधान संशोधन गर्ने प्रस्ताव सुनिसकेपछि भ्रममा परेका साथीहरू, आशा गरेर बसेका मान्छेहरू पनि छर्लङ्ग भएका होलान्, निरास भएका होलान् । छाँगाबाट खसेको स्थितिमा पुगेका होलान् ।’

उनले जब ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा मन नपरेको बताए । उनले भने, ‘हामीले राम्रो सुझाव दिँदा मलाई घेराबन्दी गर्ने भन्न थाल्नुभयो । मलाई निर्देशन दिने मान्छे यस धर्तीमा जन्मेको छैन । मलाई मनमा जे आउँछ, स्वेच्छापूर्वक काम गर्नेछु । मेरो आदेश सबैले पालना गर्नुपर्छ भन्ने उहाँको मनोदृष्टि हामीले मनोगत भनेर त्यतिकै भनेका हैनौँ । तथ्य र घटनाक्रमले त्यसलाई पुष्टि गर्दै आइरहेको छ ।’

उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर प्रश्न गरे । केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताए । त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने बताए ।

नेता नेपालले ओलीले किन विधान संशोधनको प्रस्तावको नियत बुझ्न कुनै गाह्रो नभएको बताउँदै जथाभाबी रूपमा पार्टीमा पदाधिकारी नियुक्त गरेबाटै प्रस्ट हुने बताए । उनले पार्टीभित्र एकताको कुरा गर्ने नेताहरूलाई लक्षित गर्दै भने–‘हामी भ्रममा परेका छौँ, त्यो विधान पनि खारेज हुन्छ कि, निर्णय फिर्ता हुन्छ कि ? तर फिर्ता भएको छैन । नियुक्त गरिएको एउटा पनि पदाधिकारी हटाएको छैन । उहाँले एकतर्फी रूपमा कदम अगाडि बढाउनु भएको छ ।’

उनले ओलीको नियत छर्लङ्ग भएको बताउँदै अहिलेसम्मको समस्याको कारण ओली कि हामी भन्दै प्रश्न गरे । दुई नेताको झगडाको विषय मात्रै भएको भए बामदेव गौतमले किन विधानमा त्यस्तो कुरा थप्न भनेको ? नेकपा कालमै बहुमत स्थायी समितिले किन ओलीको राजीनामा मागेको ? भन्ने प्रश्न गर्दै त्यसपछि पनि ओलीमा सुधार नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७