थापाथली क्षेत्रको बागमती किनारमा फोहर बढ्यो


३१ श्रावण २०७८, आईतवार
fohor

काठमाडौं, ३१ साउन । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारमा सुकुम्वासी बस्ती बढेसँगै फोहर पनि बढ्न थालेको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अध्ययन अनुसार थापाथली क्षेत्रमा सुकुम्वासीका १३७ घर थिए । बागमती सफाइ महाअभियानले शनिबार थापाथली क्षेत्रमा गरेको सफाइ एवं सुकुम्वासी बस्तीको निरीक्षणका क्रममा त्यस क्षेत्रमा १२ घर बढेको भेटिएको समितिका सञ्चालक सदस्य डा.माला खरेलले बताइन् । सुकुम्वासी बस्ती व्यवस्थित नगरिँदा नदी किनारमा अस्थायी संरचना बनाएर बस्नेको संख्या बढ्दै गएको छ ।

‘दुई वर्षअघि थापाथली क्षेत्रको सुकुम्वासी बस्तीको अध्ययनमा म पनि संलग्न थिएँ, त्यसबेला घरधुरीसहितको विवरण सङ्कलन गरिएको थियो,’ खरेलले भनिन्, ‘बस्ती व्यवस्थापनका लागि सरोकारवाला माथिल्ला निकायमा पत्राचार पनि गरेका थियौं । तर काम हुन सकेन । अहिलेको अध्ययन एवं निरीक्षणका क्रममा त्यस क्षेत्रमा १२ घर थप भएछन् ।’

सुकुम्वासी बस्ती बढेसँगै नदी किनारमा फोहर पनि बढेको छ । नदीको बहाव क्षेत्रमा वर्सातको पानी बढेकाले सफा देखिए पनि किनारमा फोहोरको डंगुर छ । सफाइमा वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत १०० जनाभन्दा धेरै अभियानकर्मी सहभागी थिए ।

यसैगरी शङ्खमूल क्षेत्रमा पनि डा.लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । सफाइमा टोल सुधार समितिलगायत स्थानीयवासीको सक्रियता थियो । स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गरेर सफाइ गरिएको पौडेलले बताइन् । गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४०१ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी कुहिने फोहरलाई जमिनमुनि गाडिएको छ । नकुहिने प्लाष्टिकजन्य फोहोर बोत्तलमा राखी इट्टा बनाउन उपयोग गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले २३० औं हप्ताको सफाइ कोटेश्वरचोक ट्राफिक प्रहरी कार्यालयअघिबाट जडिबुटी चोकसम्म गरेको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख रमेश बोहरा, महानगरीय ट्राफिक प्रहरी परिसर काठमाडौंका प्रमुख रामकृष्ण देवकोटालगायत करिब ५० जनाको सहभागिता थियो ।

उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको बागमती सफाइ महाअभियान निरन्तर जारी छ ।

बागमती सफाइ महाअभियानबाट पभावित भएर काठमाडौं उपत्यकामा बागमतीका सहायक नदीको पनि सफाइ शुरु भएको हो । काठमाडौं उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ । उपत्यका बाहिरका मुख्य शहर, नदी एवं प्रमुख तीर्थस्थलमा पनि सफाइ भइरहेको छ । हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७