अमेरिकामा पहिलो पटक श्वेत जनसंख्या घट्यो, अल्पसंख्यकको संख्या बढ्यो


३१ श्रावण २०७८, आईतवार
white population declines for the first time in US1628993853

काठमाडौं, ३१ साउन । अमेरिकामा श्वेत नागरिकको संख्यामा पहिलो पटक गिरावट आएको छ । अमेरिकन सेन्सस ब्यूरोले बिहीबार जनगणना सम्बन्धी यो आश्चर्यजनक नयाँ डाटा सार्वजानिक गरेको हो, जसमा २०१० पछि श्वेत जनसंख्या ८.६ प्रतिशतले घटेको पाइएको छ ।

२०१० मा कूल जनसंख्याको ६३.७ प्रतिशत श्वेत जनता थिए भने अहिले यो ५८ प्रतिशतमा झरेको छ । यो जनगणना सुरु भएदेखिकै पहिलो घटना हो । अल्पसंख्यक समूहमा भने गत एक दशकमा उल्लेख्य वृद्धि भएको छ । यसमा ल्याटिनो जनसंख्या २३ प्रतिशतले बढेको छ भने एसियाली जनसंख्यामा पनि ३५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अश्वेत जनसंख्या ५.६ प्रतिशतले बढेको छ ।

सेन्सस ब्यूरोका अधिकारी निकोलस जोनसले भनेका छन्, ‘अमेरिकी जनसंख्या पहिलेको तुलनामा अधिक बहुजातीय र विविध बन्न पुगेको छ । यस्तो पहिले कहिल्यै भएको थिएन ।’ हाल अमेरिकाका सबैभन्दा विविध स्टेटहरु : हवाइ, क्यालिफोर्निया, नेभाडा, टेक्सस, मेरिल्यान्ड, कोलम्बिया, न्यु जर्सी र न्युयोर्क रहेका छन् । टेक्ससमा मात्र श्वेत र अश्वेत जनसंख्या झण्डै समान स्तरमा पुग्न लागेको छ । त्यहाँ श्वेत जनसंख्या ३९.७ प्रतिशत छ भने अश्वेत नागरिकरुको संख्या पनि ३९.३ रहेको छ ।

यसैगरी बहुजातीयहरुको संख्यामा पनि ठूलो वृद्धि देखा परेको ब्यूरोले जनाएको छ । विगत दश वर्षमा अमेरिकी जनसंख्या ७.४ प्रतिशतले वृद्धि भएको छ जसलाई अमेरिकी इतिहासकै सुस्त वृद्धि भनिएको छ । यसमा ठूल्ठूला सहरी क्षेत्रको जनसंख्या बढेको बढ्यै छ भने ससाना काउन्टीमा संख्या निरन्तर घटिरहेको छ ।

अमेरिकीहरुले सबैभन्दा बढी दक्षिण र पश्चिमतर्फ बसाइ सर्ने गरेको पनि तथ्यांकले देखाएको छ । सबैभन्दा छिटो वृद्धि हुने सहरमा फिनिक्स परेको छ । तर, अझै पनि न्युयोर्क सिटी नै अमेरिकाको सबैभन्दा ठूलो सहर हो जहाँ ८८ लाख मानिसहरु बसोबास गर्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७