नयाँ बसपार्कको टिकट काउण्टर कम्युटर प्रणालीमा, थपिए यस्ता सुविधा


३१ श्रावण २०७८, आईतवार
bus park

काठमाडौं, ३१ साउन । काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कमा कम्युटरको माध्यमबाट बसको टिकट काट्न सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप हातेटिकट बन्द गरिएको हो ।

गएको वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउन्टर निषेधाज्ञा खुकुलो भएसँगै कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको छ । टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’ मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्ने छन् ।

कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाइने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट हाल देशका ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । यो नेपालको राष्ट्रिय बसपार्कको रुपमा पनि परिचित छ । नयाँ बसपार्कभित्रका ३२ टिकट काउण्टरले हाल कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।

ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको हो ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जीनियर दीपक कुँवर टिकट काउण्टरलाई प्रविधिमा लगेसँगै बसपार्कका काउण्टरमा हुने भीडभाड र यात्रु तानातानको अवस्था अन्त्य हुने बताउँछन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कका रूपमा विकास गर्ने लक्ष्यअनुसार काउण्टरमा प्रविधिको प्रयोगलाई जोड दिइएको अध्यक्ष कुँवरले बताए ।

ल्होत्सेले नयाँ बसपार्कभित्र चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान र बस्नका लागि होटल तथा लजसमेत सञ्चालनमा ल्याएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा रहेको नयाँ बसपार्क ६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । ल्होत्सेले यातायात व्यवसायीसँगको सहकार्यमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल तथा लज सञ्चालनमा ल्याएको ल्होत्सेका मानव संशाधन प्रमुख पङ्कज मल्लले बताए ।

यसभन्दा पहिले विभिन्न जिल्लाबाट रातिको समयमा आएका चालक, सहचालक तथा यात्रु बसोबासका लागि बसपार्क बाहिरका होटलमा जानुपर्ने बाध्यता थियो । बसपार्कभित्र आवतजावत गर्ने चालक, सहचालक तथा यात्रुलाई सफा र शुद्ध खानेकुरा खुवाउने उद्देश्यले ल्होत्सेको पहलमा बसपार्कभित्रै खाना घर, खाजा घर, क्याफे सञ्चालनमा ल्याइएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि पहिलो र दोस्रो लहरको कोरोनाका कारण बन्दाबन्दी र निषेधाज्ञा हुँदा नयाँ बसपार्क आठ महिना पूर्णरूपमा बन्द भएको थियो । कोरोनाका कारण बन्द हुँदा नयाँ बसपार्कमा २० करोडभन्दा बढीको नोक्सानी भएको ल्होत्से बहुउदेश्यीय प्रालिले जनाएको छ ।

ल्होत्सेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एवं कर्मचारीको तलब, सेवा तथा सुविधाका लागि मासिक करोडौं खर्च हुँदै आएको छ । यस्तै नयाँ बसपार्क सञ्चालनवापत काठमाडौं महानगरपालिकालाई समेत ल्होत्सेले वार्षिकरूपमा जग्गाको भाडा बुझाउँदै आएको छ ।
विसं २१०२ सम्म ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गर्न पाउने गरी सम्झौता भएको नयाँ बसपार्क सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचना समेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७