अफगानिस्तानमा फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काऊ : राप्रपा


३१ श्रावण २०७८, आईतवार
raprapa

काठमाडौं, ३१ साउन । राष्ट्रिय प्रजातान्त्रिक पार्टीले अफगानिस्तानमा फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गर्न व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष पशुपति शमसेर जबरा, डा.प्रकाशनचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै त्यहाँ गृहयुद्धको सम्भावना रहेको भन्दै जतिसक्दो चाँडो नेपालीलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।

‘तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षावारे राप्रपा चिन्तित रहेको छ । त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीमाथिको भेदभाव र असमानता पूर्णरुपले अन्त्य हुन सकेको भन्दै त्यसको अन्त्यका लागि बेलायत सरकारसँग माग गरेको छ । साथै राप्रपाले ति मागहरु पूरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ ।

’विगतमा पनि ब्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदित छ । यसै पृष्ठभूमीमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दछ । साथै, ति मागहरु पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपा नेपाल सरकारको ध्यान आकर्षित गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

raprapa 20210815083130

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७