तल्लो कमिटीसम्म बहुपदमा जाने माओवादी केन्द्रको निर्णय


३१ श्रावण २०७८, आईतवार
maoist center meeting 2 sXP1JQfp6d

काठमाडौं, ३१ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रले तल्लो कमिटीसम्मै बहुपदमा जाने निर्णय गरेको छ । अन्तरिम विधानमा उल्लेख भएअनुसार सबै कमिटीहरुमा बहुपदमा जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । २०६९ साल माघमा मकवानपुरको हेटौंडामा भएको महाधिवेशनबाट माओवादी बहुपदमा गएको थियो ।

त्यसबेला माओवादीको एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक कोषाध्यक्षको व्यवस्था गरिएको थियो । शनिबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले तल्लो कमिटीसम्म बहुपदमा जाने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित गरेको छ ।
‘माओवादी केन्द्रका सबै समिति बहुपदीय हुने ।

केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा प्रदेश र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने’, एक केन्द्रीय सदस्यले भने, ‘जिल्ला समन्वय समिति हुने, जनआधारित अग्रदस्ता निर्माण गरिने र अध्यक्ष प्रचण्डकै नेतृत्वमा विचारको विकास र सांस्कृतिक रुपान्तरण गर्नुपर्नेमा जोड छ ।’

त्यस्तै राष्ट्रिय सम्मेलन अघि चारमहिनासम्म बिभिन्न तहको सम्मेलन गर्ने निर्णय भएको उनले बताए । बैठकले संघियताको मर्मअनुसार जिल्ला समिति खारेज गर्ने र जिल्ला संयोजक समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले रिक्त पदपूर्तिको लागि स्थायी समितिलाई ७ दिनको म्याद दिएको छ । यस्तै बैठकले उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने, जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिनेलगायत निर्णय पनि गरेको छ ।

त्यस्तै माओवादीका हरेक संरचनामा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलितको सहभागिता अनिवार्य गर्ने विधानको प्रस्ताव पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यस्तै वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिगमनको खतरा र समयको माग भएसम्म जारी राख्ने र गठबन्धन सरकारलाई संसदको पूर्ण कार्यकालसम्म सफल ढङ्गले सञ्चालन गर्ने पनि निर्णय उनले बताए।

बैठकले बिभिन्न चार वटा प्रस्ताव पनि पारित गरेको छ । जसमा भारतीय एसएसबीले तार काटेर महाकालीमा जयसिंह धामी खसेको भन्ने निचोड निकाल्दै सरकारलाई यसबारे छानविन टोलीको प्रतिवेदन सिघ्र ल्याई कुटनीतिक पहल गर्न माग गरिएको छ । त्यस्तै बेलायतमा पूर्व गोर्खा सैनिकको अनसनबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट जनतालाई बचाउने अधिक्तम पहल गर्न सरकारलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले अफगानस्थानमा रहेका नेपालीको सुरक्षाको व्यवस्था गर्दै सुरक्षित स्थानमा लैजाने व्यवस्थान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७