यथास्थितिमै रुमलिने हो भने माओवादी पार्टीको औचित्य छैन, किताब लेख्दै बसे हुन्छ : प्रचण्ड

माओवादी विधानबाट जिल्ला ‘डिलिट’


३१ श्रावण २०७८, आईतवार
prachanda

काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थितिमै रुमलिरहे माओवादी पार्टीको औचित्य सकिने बताएका छन् ।

दुई दिनदेखि काठमाडौंको अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘विश्वमा कम्युनिष्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो’, उनले भने, ‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुने हो भने पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुन्छ ।’

केन्द्रीय कमिटीको बैठकमा यसो हेर्दा ठीकै जस्तो देखिए पनि माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएको र त्यही दिशातिर गइरहेको प्रचण्डले औंल्याए । ‘हामीमा पनि विचलन हुने हो कि भन्ने प्रक्रिया निकै तीब्र छ । त्यतातिरै गइराखेको छ, हामीले थाहै नपाई,’ प्रचण्डले थपे, ‘हामीले यसलाई कुन विन्दुमा ब्रेक गर्छौं त ? कसले गर्छ ब्रेक ? हामीले ब्रेक गर्ने हो कि हैन ? मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमा ?’

जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डले दाबी गरे । ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ बैठकमा प्रचण्डले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं ।’

अहिलेको स्थिति सामान्य नरहेको प्रचण्डले बताएका छन् । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिकलगायतका कमी कमजोरीहरु रहे पनि आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि यसले आधार तयार पारेको प्रचण्डले बताए ।

८ पेजको प्रस्तावमा विचारको भ्रुण भएको बताउँदै उनले यसलाई राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशावोध गर्ने दस्तावेज तयार पार्ने बताए । प्रचण्डले भने, ‘त्यसो गर्न सकेनौं भने हामी रुमलिन्छौं । हामी यसरी रुमलिन दिंदैनौं । हामी अरु जस्तो हैनौं भनेर फेरि एकचोटी सिद्ध गर्नुछ ।’

माओवादीको विधानबाट जिल्ला ‘डिलिट’
यसैबीच माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।

बैठकमा प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सीधै जनतामा… ।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले जानकारी दिए । जिल्ला कमिटीको साटो जिल्ला समन्वयन कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७