मेलम्ची क्षेत्र अझै जोखिममा, विज्ञ भन्छन्, ‘जुनसुकै बेला फेरि बाढी आउन सक्छ’


३१ श्रावण २०७८, आईतवार
melamchi head badhi 6

काठमाडौं, ३१ साउन । मेलम्ची नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरुले उक्त क्षेत्रमा फेरि पनि वाढी पहिरो जानसक्ने चेतावनी दिएका छन् । भेमाथाङमा जम्मा भएको डेब्रिज र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले यस्तो बताएका हुन् ।

मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो । विभागले गत साउन २२ गतेबाट अध्ययन शुरु गरी वाढी आउनुको कारण र त्यस क्षेत्रको भौगर्भिक अध्ययन पछि यस्तो निष्कर्ष निकालेको विभागका वरिष्ठ डिभिजनल जीयोलोजिष्ट शिव बास्कोटाले बताए ।

नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको बहसमा उनले भेमाथाङभन्दा माथिबाट आएको गेग्रानहरु भेमाथाङ चौरमा जम्मा भएर बसेकाले त्यो जुनसुकै समयमा बग्ने अवस्थामा रहेको बताए । ‘भेमाथाङ भन्दा माथि मेलम्ची र पेम्दाङ दुई नदी जोडिएको स्थामा बाढीले पुरिएर चौर नै भरिएको थियो जहाँ १० मिटरसम्म पुरिएको देखिन्छ,’ भूगर्भविद् बास्कोटाले भने, ‘मेलम्ची नदीबाट कुनै पनि गेग्रान आएको देखिँदैन । तर भेमाथाङमा जम्मा भएको गेग्रान पेम्दाङबाट आएको देखिन्छ । पेम्दाङ नदीको आसापासको क्षेत्रमा पहिरोहरु धेरै गएको देखिन्छ ।’

उनले त्यसभन्दा माथि अझै पहिरोहरु बगीरहेकाले जोखिम उत्तिकै रहेको बताए । उनले मेलम्ची नदीमाथि पनि पहिरोको सम्भावनाहरु बढीरहेकोले जोखिम बढी रहेको बताए । उनले भने, ‘मनसुन अवधिभर जुनसुकै समयमा फेरी वाढी आउन सक्छ ।’ भेमाथाङसँगै त्यसभन्दा तलको मेलम्ची खानेपानी आयोजनाको इन्टेक रहेको अम्बाथानमा १५ मिटर पुरिएको बाँस्कोटाले बताए । उनका अनुसार भेमाथाङ चौरमा जम्मा भएको गेग्रान मात्रै १५ लाख ट्रकभन्दा बढी रहेको छ । त्यसलाई व्यवस्थापन गर्न कुनै उपाय नभएकाले त्यो जुनसुकै समयमा बगेर आउने उनले बताए । त्यसबाहेक पेम्दाङमा पहिरोहरु जाने क्रममा रोकिने अवस्थामा नरहेकाले जोखिम बढी नै रहेको उनले बताए ।

भेमाथाङमा जम्मा भएको गेग्रान र त्यभन्दा माथिको पहिरोहरु अस्थिर रहकाले तल्लो तटीय क्षेत्रमा अझै बाढी पहिरोको जोखिम भएकाले सुरक्षित हुन आवश्यक रहेको हिमतालहरुको अध्ययन गरिरहेका अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का इन्जिनियर अरुणभक्त श्रेष्ठले पनि जोखिम बढी नै रहेको बताए ।

काठमाडौं विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख डा रिजनभक्त कायस्थले जोखिमयुक्त क्षेत्र भएकाले त्यसतर्फ सबैले विशेष सतर्कता अपनाउनु पर्ने बताए । उनले मेलम्ची जलाधार क्षेत्रमा रहेको सानाठूला सबै नदीहरुमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु आवश्यक भएको बताए ।

यसैगरी काठमाडौं विश्वविद्यालयकी एसोसियट प्रोफेसर डा. रेश्मा श्रेष्ठले जोखिम न्यूनीकरणका उपायहरु अपनाउनु पर्ने बताइन् । उनले जोखिम न्यूनीकरणका लागि सबै निकायले विशेष ध्यान दिनुपर्ने बताइन् । यस्तै सिनियर भूगर्भविद् विशालनाथ उप्रेतीले जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७