नेपालीलाई अफगानिस्तान पठाउने म्यानपावरलाई विभागले बोलायो

अफगानस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह


३१ श्रावण २०७८, आईतवार
afghanistan Lv1evBaVbe

काठमाडौं, ३१ साउन । नेपालीलाई रोजगारीका लागि अफगानिस्तान पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।

नेपालीको अवस्थाबारे यकीन विवरण जानकारीमा राख्न र उद्धारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले जानकारी दिए । ‘अफगानिस्तानमा श्रमिक पठाएका म्यानपार कम्पनीलाई सोमबार विवरणसहित उपस्थित हुन भनेका छौं । नेपालीको अवस्थाबारे भोलि उनीहरुसँग छलफल हुन्छ,’ सूचना अधिकारी भट्टराईले भने ।

अफगानिस्तानको कुन ठाउँमा नेपालीहरु कुन अवस्थामा छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्धार गर्न सहज हुने भट्टराईको भनाइ छ । अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुन थालेसँगै विद्रोही संगठन तालिबानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेको छ ।

सरकारी सुरक्षाकर्मीसँग तालिवानको भिडन्तका कारण हिंसा फैलिएपछि अफगानिस्तानबाट धेरै देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार पछिल्लो डेढ वर्षमा करिब १२ सय नेपाली वैधानिक रुपमा अफगानिस्तान पुगेको देखिएको छ । ‘अवैध बाटो भएर कति जना अफगानिस्तान जानु भएको छ भन्नेबारे यकीन जानकारी छैन,’ उनले भने ।

दुबईका सेक्युरिटी कम्पनीहरुले पनि अफगानिस्तानमा पठाउने गरेका छन् । जुन विवरण नेपालमा उपलब्ध छैन । नेपालबाट अफगानिस्तानमा रहेका नेपालीको विस्तृत विवरण लिएपछि त्यसलाई भारतमा रहेको नेपाली दूतावासमा जानकारी दिइने महानिर्देशक दवाडीले बताए । ‘म्यानपावर कम्पनी विवरण पाएपछि मिसनले नै उद्धार गर्ने हो, त्यसको खर्चको व्यवस्थापन कसरी हुन्छ भन्ने टुंगो लागेको छैन,’ उनले भने ।

सम्पर्कमा आउन सरकारको आग्रह
सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज (आइतबार) एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ ।

अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्ने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ । उद्धारका लागि + ९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रििय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।
हेर्नुस् विज्ञप्ती

p

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७