कृशलाको हत्या अभियोगमा दुई पुरुष पक्राउ, प्रहरीले सार्वजनिक गर्दै


३२ श्रावण २०७८, सोमबार
1628672162 krisala 1200x560 1

उदयपुर, ३२ साउन । मृत भेटिएको १२ दिनपछि कृशला चौधरीको हत्यारा अभियोगमा प्रहरीले दुई पुरुषलाई पक्राउ गरेको छ ।
गत १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका–६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्यारा पत्ता लागिसकेकाले आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

प्रहरीले लामो अनुसन्धानपछि अपराधी पत्ता लगाएको दावी गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले झण्डै दुईसाता लामो अवधिसम्मको गहिरो अनुसन्धानपछि हत्यारा पत्ता लगाउन प्रहरीलाई सफलता मिलेको बताए ।

उनले कृशलाको हत्यामा दुई जना संलग्न भएको प्रारम्भिक निष्कर्ष निस्केको बताउँदै नाम, ठेगाना भने पत्रकार सम्मेलनमै जानकारी गराउने बताए । ‘निकै कठिन अनुसन्धानपछि हत्यारा पत्ता लगाएका छौं, आजै पत्रकार सम्मेलन गरेर अपराधी सार्वजनिक गर्दैछौं’ डिएसपी गौतमले भने ‘विस्तृत जानकारी चाँही पत्रकार सम्मेलनमै पाउनु हुनेछ ।’

साउन १३ गते घरबाट निस्केर परिवारको सम्पर्कभन्दा बाहिर रहेकी कृशलाको सडिसकेको मृत शरीर त्रियुगा नगरपालिका–६ कै राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबीच रातमाटे खोला किनारमा १९ गते फेला परेको थियो ।

सालको रुखमुनि जरामा सामान्य पुरिएको अवस्थामा सडिसकेको लास देखेर स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले लास बरामद गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएपछि सोधखोजी गर्ने क्रममा २० गते कृशलाका बाबुले शव आफ्नी छोरीको भएको पहिचान गरेका थिए ।

हातमा लगाएको डिजिटल घडी, घाँटीमा लगाएको बुटी, खुट्टाको डोरी र लुगाको टुक्रा तथा केही टाढा रहेको चप्पलबाट प्रेमकुमार चौधरीले शव छोरी कृशलाको भएको यकिन गरेको प्रहरीले जनाएको छ । अनुहार नचिनिने गरी कालो भएको, शरीरको कम्मरमुनि भाग क्षत विक्षत भएको हुनाले सामुहिक बलात्कारपछि हत्या गरेको अनुमान स्थानीयले गरेका छन् ।

प्रहरीले घट्ना घटेको दुई साता बित्न लाग्दासम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै चौतर्फी दबाब बढेको थियो । राजनीतिक दलहरु, अधिकारकर्मी संघसंगठन, नागरिक समाज, महिला संघसंस्था, युवा, विद्यार्थी र बालबालिका समेतले छिटो अनुसन्धान गरी दोषी पत्ता लगाएर काबाही गर्न दबाब दिदै सदरमुकाममा बिरोध प्रदर्शन समेत गरेका थिए । त्यस्तै पीडितहरुको तर्फबाट बिभिन्न संघसंस्थाले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै प्रेस विज्ञप्ती जारी गरेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७