अध्यादेश आशंकाले एमालेमा तरंग


१ भाद्र २०७८, मंगलवार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, १ भदौं । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ । सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन् । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने ।

छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन् । पार्टी विभाजन गर्ने गरी कुनै पनि प्रकारको अध्यादेश आए त्यो मान्य र क्षम्य नहुने उनले उल्लेख गरेका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, सांसद सबैलाई पार्टी विभाजनविरुद्ध उभिन अपिल गरेका छन् । उनले पार्टीको विवाद मिलाउन १० बुँदे सहमति भइसकेकाले त्यसको पालना र कार्यान्वयन हुने बताएका छन् ।

साँझको अनौपचारिक छलफलपछि ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेका छन् । स्थायी कमिटी बैठक मंगलबार ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने छ ।

उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३० भन्दा बढी केन्द्रीय सदस्य पनि छलफलमा जुटेका छन् । उनीहरूले आवश्यक परे राष्ट्रिय भेला बोलाएर भए पनि पार्टी विभाजन हुन नदिने गरी दबाब सिर्जना गर्ने भएका छन् । ‘पार्टी विभाजन हुने अवस्था आए एमालेका दुवै पक्षका नेताले आआफ्नो तहमा दबाब दिनेगरी कार्यकर्ता परिचालन गर्ने तयारी भएको छ’, एक नेताले भने ।

हाल कायम राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुग्नुपर्ने बाध्यकारी व्यवस्था छ । दुवै ठाउँमा ४० प्रतिशत नपुगेमा दल त्याग गरेको हुने व्यवस्था छ । यो व्यवस्थाले नेपाल पक्षलाई एमाले विभाजनका लागि रोकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।

सरकारले संसद्को चालु अधिवेशनमै बजेट पास गराउनुपर्नेमा एमालेमा देखिएको विवादलाई ध्यान दिएर अधिवेशन टुंग्याएको छ । एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको आशंका गरेको छ । ‘ओली पक्षले विभाजनको तयारी गरेको छ त्यसकारण बढी शंका गरेको हो । अध्यादेश आए पनि हामी अन्तिमसम्म पार्टी एकताकै पक्षमा छौं’,नेपाल निकट एक नेताले भने । उनका अनुसार ओलीले एकताका लागि वातावरण बनाउनुभन्दा पनि विधान संशोधन प्रस्ताव अघि सारेर एकताको ढोका नै बन्द गरेका छन् ।

नेता नेपाललाई बराबरी अधिकार दिन नमानेपछि एमाले विभाजनको संघारमा पुगेको छ । ओलीले एकतर्फी रूपले महाधिवेशनको तयारी अघि बढाएपछि चिढिएका नेता नेपालले आफू पक्षधर नेतालाई जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै नयाँ परिस्थितिको सामना गर्न निर्देशन दिइसकेका छन् ।

नेपाल नयाँ पार्टी गठनको तयारीमा रहेको स्रोतले दाबी गरेको छ । यसबारे स्वयं नेपालले भने केही पनि बताएका छैनन् । पार्टी विभाजन गर्ने नेपालको तयारी र सरकारले संसद् अधिवेशन पनि अन्त्य गरेपछि ओली पक्ष राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्ने भन्दै आवश्यक रणनीति बनाउन लागि परेको छ ।

ओली पक्षधर केही नेताले पार्टी विभाजन हुन नदिन अध्यक्षलाई दबाब दिइरहेका छन्। पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, खगराज अधिकारी, खिमलाल भट्टराईलगायतले पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिइरहेका छन् । एमाले विवाद समाधान कार्यदलमा रहेका नेताहरूले पनि पार्टी एकता कायम राख्न जोड दिइरहेका छन् ।

ओली र नेपाल पक्षका केन्द्रीय सदस्यहरूले दुवै तर्फबाट कार्यदलमा सहभागी नेताहरूलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरिरहेका छन् । नेपाल पक्षका केन्द्रीय सदस्यहरू यज्ञराज सुनुवार, झपट रावल, सोमप्रसाद पाण्डे, जयकुमार राई, दीपक भट्ट, राजबहादुर बुढालगायतले पनि पार्टी एकताका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको कार्यदलका सदस्यहरूलाई बताएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७