माधव नेपालले बोलाए आफू पक्षका सांसद र केन्द्रीय सदस्यको बैठक


१ भाद्र २०७८, मंगलवार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, १ भदौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुसँगको बैठक बोलाएका छन् ।
सिंहदरबारमा अहिले नेपाल पक्षीय नेताहरु बैठकमा जुटेका छन् ।

साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल पक्ष नयाँ पार्टी खोल्ने योजनामा छ । नेपाल पक्षको नयाँ पार्टी खोल्ने योजनालाई सहजीकरण गर्न भन्दै देउवा सरकारले आजै दल विभाजनसम्बन्धी कानुनमा खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउँदैछ ।

अध्यादेशका लागि अहिले मन्त्रिपरिषद् बैठक पनि बसिरहेको छ । यस्तो अवस्थामा सम्भावित रणनीति तय गर्नका लागि नेपालले आफू पक्षीयहरुसँगको बैठक राखेका हुन् । नेपाल पक्षमा नयाँ पार्टी खोल्ने र एमालेमै मिल्ने विषयमा विवाद मिलिसकेको छैन । नयाँ पार्टी खोल्न दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउन नसकेपछि नेपाल पक्षलाई सहज बनाइदिन देउवाले अध्यादेश ल्याउँदै छन् ।

उक्त अध्यादेशमा दल वा केन्द्रीय कमिटीमध्ये एकमा २५ प्रतिशत संख्या पुर्‍याउने मिल्ने प्रावधान राख्ने तयारी मन्त्रिपरिषद्ले गर्दैछ । देउवा सरकारले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेपछि एमाले स्थायी कमिटी बैठक अहिले ललितपुरको च्यासलमा बसिरहेको छ ।

एमालेले आजै दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक पनि डाकेको छ । एमालेले सोमबारै राति विज्ञप्ति निकालेर सरकारले एमाले फुटाउने षड्यन्त्र गरेको जनाइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७