अफगानिस्तानबाट आएका १२७ जनालाई खरिपाटीको ‘होल्डिङ सेन्टर’ लगियो

कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आए आजै घर पठाइने


१ भाद्र २०७८, मंगलवार

काठमाडौं, १ भदौं । सरकारले अफगानिस्तानबाट मंगलबार आइपुगेका १२७ जनालाई खरिपाटीको ‘होल्डिङ सेन्टर’ मा पठाएको छ । उनीहरूलाई कम्तीमा १० दिन त्यहाँ राखेर घर पठाउने सरकारको तयारी छ ।

काठमाडौं आइपुगेका सबैलाई कोरोना परीक्षणका लागि सामाखुसीस्थित सेनाले सञ्चालन गरेको आइसोलेसनमा लगिएको छ । आइसोलेसनमा लैजान सेनाले १३ वटा बस विमानस्थल पठाएको थियो । शुरुमा एन्टिजेन परीक्षण गरिने नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । एन्टिजेनमा रिपोर्ट पोजेटिभ आएकाहरुको पुनः पीसीआर गरिने छ । पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आउनेलाई त्यही आइसोलेसनमा राखिने छ ।

रिपोर्ट नेगेटिभ आएकाहरुलाई भने सीसीएमसीका प्रतिनिधिको रोहबरमा आजै घर पठाउने व्यवस्था गरिने सेनाले जनाएको छ । त्यसरी घर जानेहरु होम आइसोलेसनमा बस्ने छन् । गृहमन्त्रीको सचिवालयका अनुसार उनीहरूले होल्डिङ सेन्टरमा रहँदाको खाने बस्ने खर्च सरकारले नै ब्यहोर्ने छ । बिहान सवा १० बजे कुवेत हुँदै जजिरा एयरलाइन्सबाट ११८ जना नेपाली र नेपालीमूलका ९ जना भारतीय नागरिक काठमाडौं आएका थिए । तीमध्ये एक जना नेपाली महिला हुन् ।

उनीहरुलाई अमेरिकी सेनाले विमान चार्टर गरेर काठमाडौं ल्याइदिएको हो । काबुलस्थित अमेरिकी मिशनमा कार्यरत नेपालीलाई पहिलो पटक उद्धार गरिएको हो । अमेरिकी सेनाले आफ्नो मिसनमा कार्यरत विदेशीलाई पनि उद्धार गरिरहेको छ । यस बाहेक झण्डै चार सय नेपालीलाई दोहा पुर्‍याएको छ ।

उनीहरुलाई पनि काठमाडौं आउने व्यवस्था अमेरिकी सेनाले नै गर्ने भएको छ । अफगानिस्थान विद्रोही तालिबानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपालीहरू जोखिममा परेका थिए । सर्वत्र उद्धारको माग हुन थालेपछि सरकारले सोमबार बिहान त्यहाँ रहेका नेपालीहरूको सकुशल उद्धार गर्ने निर्णय गरेको थियो ।

हिजै गृहमन्त्री बालकृष्ण खाणले गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित चावटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रूपमा उद्धार गर्न निर्देशन दिएका थिए । सरकारले यसअघि आएकाहरूलाई होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने निर्णय नगरेका कारण यसअघि आएका १६५ जना भने सिधै आ–आफ्नो घर गइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७