एमाले फुटे माधव नेपाललाई बामदेवको साथ

माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता


१ भाद्र २०७८, मंगलवार
bamdev gautaam

काठमाडौं, १ भदौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्न लागेको नयाँलाई साथ दिने निष्कर्षमा पुगेका छन् ।

एमालेले आज च्यासलमा राखेको स्थायी कमिटी बैठकमा अनुपस्थित गौतमले नयाँ पार्टी दर्ता गर्दा माधव नेपाललाई साथ दिने निर्णय लिएका हुन् । केपी शर्मा ओली र नेपालबीच विवाद चलिरहँदा एमालेको केही बैठकमा सहभागी पनि भएका उनी नयाँ दल दर्ता हुने अवस्थामा एमाले छाड्ने पक्षमा उभिएका हुन् ।

‘उहाँ (वामदेव) अब माधव नेपालकै पक्षमा उभिनु भएको छ’, उनका एक सहयोगीले भने, ‘पहिले पनि उहाँले माधव पक्षले नयाँ पार्टी बनाउने अवस्थामा आफू त्यतै लाग्ने बताइसक्नु भएको थियो ।’ यसअघि च्यासलमै भएको बैठकबाट ओलीले आफूमाथि अधिकार केन्द्रित गर्दा उपाध्यक्ष गौतमले आपत्ति प्रकट गरेका थिए । उनले त्यसबेला गाली गर्ने अधिकार पनि अझै थप्न भन्दै ओलीलाई कटाक्ष गरेका थिए ।

२०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित हुँदा उनी तटस्थ बसेका थिए । तर फागुन २३ मा एमाले ब्यूँतिएपछि उनी माधव पक्षसँग नजिक थिए । एमालेको बैठकमा सहभागी हुँदै आएका उनी र पत्नी तुलसा थापा पनि नेपालतिरै लाग्ने निर्णयमा पुगेका छन् । एमालेकी अर्की सांसद माया ज्ञवाली पनि आजैदेखि नेपालतिरै लागेकी छन् ।

माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार केपी शर्मा ओलीको नेतृत्वमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहँदा दुई नेताबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा भेटवार्ता भएको हो ।
भेटका क्रममा छलफल भएका विषय भने सार्वजनिक भइसकेका छैन ।

नेपालले बामदेवसँगको भेटपछि सांसद तुलसा थापालाई पनि भेट गरेका छन् । यसअघि नेपालले सिंहदरबारमा साउन ३ मा प्रधानमन्त्री देउवालाई मत दिँदा तटस्थ बसेका एमाले सांसदहरूसँग छलफल गरेका थिए । दल विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी हुन लागेको चर्चा भइरहेका बेला माधव नेपालको सक्रियता अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७