बर्खा र सुख्खा याममा फरक–फरक विद्युत महसुल : मन्त्री भुसाल


१ भाद्र २०७८, मंगलवार
pampha bhusal IftF6dSMnu

काठमाडौं, १ भदौं । सरकारले देशभित्रै खपत बढाउन फरक–फरक विद्युत् उपभोक्ता महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदा दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउने कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताइन् ।

प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी भुसालले भनिन्, ‘आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरी वर्षायाम र सुख्खा यामका लागि फरक–फरक विद्युत् महशुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महसुलमा सुविधा दिने निर्णय भइसकेको छ, साथै आन्तरिक खपतपछि बढी भएको विद्युत् छिमेकी देशमा निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी छ ।’

अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअघि नै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिँदै भुसालले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न आग्रह गरिन् ।

‘यसबाट ग्यास खरिदबापत विदेशिने पुँजी नेपालमै बस्छ भने अर्कातिर ग्राहकले सस्तोमा विद्युतको उपभोग गर्न पाउँछन्, यसले खपत बढ्ने र निकट भविष्यमा खेर जान सक्ने विद्युतको उपयोग हुनेछ र प्राधिकरणको आम्दानी समेत बढ्ने छ’, उनले भनिन्, ‘नहर तथा कुलोबाट सिँचाइ हुन नसक्ने कृषियोग्य जमिनमा सिँचाइ फिडर जडान गर्दै कृषि विद्युतीकरण गर्ने र सिँचाइमा प्रयोग हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराउने मेरो प्राथमिकता रहेको छ ।’

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत जनताको लगानीमा माथिल्लो अरुण १०६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोसी पाँचौँ १०० मेगावाट आयोजनाको निर्माणलाई अघि बढाउनुका साथै कर्मचारीको लगानीमा माथिल्लो मोदी ६० मेगावाटको आयोजनालाई निर्माणमा लगिने मन्त्री भुसालले बताइन् । उनले बुटवल–गोरखपुर, केरुग (चीन)–रातमाटे जस्ता अन्तरदेशीय र पूर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ४०० केभीका प्रसारण लाइनको निर्माण गर्दा उत्पादित विद्युत् खेर नजाने साथै छिमेकी देशमा समेत विद्युत् व्यापारको ढोका खोल्ने आवश्यक रहेको उल्लेख गरिन् ।

प्राधिकरणले ग्राहकहरूलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने बताउँदै उनले गुनासोको तत्काल सम्बोधन गर्ने संयन्त्र बनाउने, वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्ने, प्रविधिको प्रयोग गर्दै स्वचालितमा जाने, स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्ने कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताइन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत एवम् सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट पाठ सिक्दै १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण तत्काल अगाडि बढाउनुपर्ने बताए ।

प्रसारण तथा वितरण संरचनाको अभावमा उद्योगहरूलाई मागअनुसारको विद्युत् उपलब्ध गराउन नसकेको उल्लेख गर्दै कार्कीले विद्युत् खपत बढाउने कार्ययोजना कार्यान्वयनमा केन्द्रित हुन प्राधिकरणलाई निर्देशन दिए । यस्तै विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले चुहावट नियन्त्रण, सुशासन कायम गर्न, विद्युत् खपत बढाउन, अर्धजलाशययुक्त तथा जलाशययुक्त ठूला आयोजना निर्माणको नेतृत्व गर्न प्राधिकरणलाई निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७