सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, गरियो यस्तो व्यवस्था


२ भाद्र २०७८, बुधबार
licence

काठमाडौं, २ भदौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा प्रणाली खुकुलो बनाएको छ । लिखित र प्रयोगात्मक परीक्षामा सहभागीमध्ये आधाजति उतीर्ण हुने गरी परीक्षा प्रणालीलाई खुकुलो बनाइएको यातायात व्यवस्था विभागले जनाएको छ । साविकको परीक्षा प्रणालीमा एक तिहाईभन्दा कम मात्रै उतीर्ण हुने गरेका थिए ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको विभागले जनाएको छ । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबैमा परिवर्तन गरिएको विभागका प्रवक्ता डा.लोकनाथ भुषालले जानकारी दिए ।

लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न मध्येबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा.भुषालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ ।

कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्नेछ । नयाँ मापदण्ड अनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि भने कम गरिएको छ ।

पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० सम्म ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अङ्क पहिले ५० भएकामा अहिले ६० बनाइएको उनले बताए । प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने व्यवस्था गरिएको छ । प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता भुसालले बताए ।

अब पहेंलो धर्कामा छुँदा, एक पटक केही गरी गाडी बन्द भएमा वा मोडमा बत्ती नबाल्दा पनि छुट दिइने छ । भुसालले भने, ‘उकालोमा रोकर अड्याउनुपर्नेमा गल्ती हुँदा भने फेल हुनेछ ।’ भारत, चीन, बेलायत, अमेरिकालगायतका देशमा भन्दा हाम्रो अप्ठेरो परीक्षा प्रणाली भएकाले परीक्षा प्रणाली केही सजिलो बनाउन लागिएको विभागले जनाएको छ ।

अरु देशमा ६०÷७० प्रतिशतसम्म पास दर रहेकामा नेपालमा २५/३० प्रतिशतको हाराहारीमा मात्रै छ । नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ । चालकको व्यवहारका कारण दुर्घटना हुने र दुर्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा.भुसालले बताए । परीक्षा प्रणाली कमजोर हुँदा दुर्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उनको भनाई छ ।

दुर्घटना चालकले नजानेर वा हेलचेक्र्याइको कारणले हुने गरेको छ । चालकले मादक पदार्थ खाएर सवारीसाधन चलाएर दुर्घटना भएको पाइन्छ । ‘कुनै पनि चालकले आफू परिपक्व नभइ सडकमा जाँदैन, ज्यानको माया सबैलाई हुन्छ,’ भुसालले भने । विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय बन्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइनेछ । मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको हो ।

अब उतीर्ण दर कम्तीमा ५० प्रतिशत पुग्ने
अहिले पास दर कम हुँदा गैरकानूनी बाटोबाट अनुमतिपत्र लिन खोज्ने प्रवृत्ति छ । अब त्यस्तो प्रवृत्ति नियन्त्रण हुने अपेक्षा गरिएको छ । सेवाग्राहीले केही गरेर पास गर्न सकिएन भने अलिअलि खर्च गरेर भए पनि पास गरौँ भन्ने सोचाइमा विकल्प खोज्ने प्रवक्ता भुसालले बताए । त्यस्तै, पटकपटक एकै जना व्यक्ति परीक्षा दिन जानुपर्दा यातायात कार्यालयमा सधैँ भीड भइरहेको छ ।

पास हुने दर बढ्दा बजारमा सवारी चालकको कमी हुने छैन । एउटै सेवाग्राहीले उही सेवा सधैँ दिनुपर्दा कार्यालयलाई झन्झट भएको र सवारी साधन चलाउछु भन्नेले चलाउन नपाएको भुसाल बनाउँछन्। ‘सकेसम्म जोखिम नहुने गरी जनताको इच्छा पूरा गर्नु पनि राज्यको कर्तव्य हो,’ उनले भने ।

यसअघि विभागले लिखित परीक्षामा सहभागी सेवाग्राहीले प्रयोगात्मक परीक्षामा एक पटक उत्तीर्ण नहुँदा अर्काे दुई पटक सहभागी हुन पाउने व्यवस्था गरेको थियो । नयाँ मापदण्डमा पनि यसलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७