मेलम्ची बजारका आसपास फोहरले भरिए


२ भाद्र २०७८, बुधबार
melamchi flood august 1 UQTxoHtRG3 1

सिन्धुपाल्चोक, २ भदौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार सञ्चालनमा छन् । बाक्लो वस्ती भएकै कारण फोहोर पनि बढी नै निस्कने गरेको छ ।

नगरपालिकाले विगतमा हप्तामा दुई दिन फोहर उठाउने गरेकामा मेलम्ची–इन्द्रावती बाढीपछि ठप्प भएको छ । नगरपालिकाले फोहर प्रशोधन केन्द्र समेत निर्माण गरी फोहर व्यवस्थापनको तयारी गरेका बेला बाढीले केन्द्रका क्षति पु¥यायो । अहिले फोहर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित बनेको व्यवसायी प्रकाश दाहालले बताए । तत्काल अस्थायीरूपमा भए पनि व्यवस्था मिलाइ फोहर उठाउनुपर्ने आवश्यकता उनले बताए ।

होटल, तरकारी पसल, किराना पसल तथा घरघरबाट निस्कने फोहर व्यवस्थापन नहुँदा अहिले मेलम्चीका खहरेखोला र बजार आसपासका छेउछाउ फोहरले भरिएका छन् । कतिपयले फोहर डडाउने गर्दा प्रदूषण बढेको छ । प्लाष्टिकजन्य पदार्थ समेत जलाउने गर्दा बजारमा बस्नसमेत उकुसमुकुस हुने गरेको स्थानीयवासी नवराज दुलाल बताउँछन् ।

अहिले नदीलाई पुरानै धारमा फर्काइ नदी किनारका बस्ती जोगाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दा अन्य काममा ध्यान दिन सकेको छैन । दीर्घकालीन सोचका साथ फोहर व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

उनले भने, ‘अस्थायी रूपमा भए पनि तत्काल केही गर्नुपर्छ भनेर नगरपालिका लागिपरेको छ ।’ मेलम्चीमा पछिल्लो समय पिउने पानी, फोहरको व्यवस्थापन, स्वास्थ्य सतर्कता चुनौतीको विषय बनेको छ । समयमै यसतर्फ ध्यान नदिने हो भने कोभिड–१९ को सङ्क्रमण, पानीजन्य रोगको उच्च जोखिम हुन सक्ने बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७