विचारलाई रुपान्तरण गर्न नसके कम्युनिष्ट आन्दोलन विघटन र विसर्जनको खतरामा : प्रचण्ड


२ भाद्र २०७८, बुधबार
Prachanda

काठमाडौं, २ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विचारलाई आत्मसमीक्षासहित क्रान्तिकारी रुपान्तरण नगरे विसर्जन र विघटनको खतरा बढेको बताएका छन् । मंगलबार शहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको स्वीकार गरे ।

‘शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि हामी आफ्नै क्रान्तिकारी चरित्र र संस्कारको (त्याग, तपस्या र बलिदान गर्ने ) भावना त्यस्तो छैन । बरु उल्टो छ’ प्रचण्डले भने । त्यस्तो आत्मसमीक्षा गर्दै संकल्प गरेर त्यस दिशामा जान सके अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समेत योगदान हुने प्रचण्डको दावी छ ।

‘देशको समग्र राजनीतिक नेतृत्व लिनलाई हामी आफैले आत्मसमीक्षा र नयाँ संकल्प गर्ने र नयाँ प्रतिबद्धता व्यक्त गर्नैपर्छ’ प्रचण्डले भने, ‘केन्द्रीय समितिमा जोड गर्न खोजेको पनि त्यहीं हो, त्यसले नयाँ उर्जा पनि प्रदान गरेको छ । तर त्यतिले पुग्दैन ।’ राष्ट्रिय सम्मेलन र महाधिवेशनसम्म गएर विचार, सिद्धान्त र व्यवहारलाई अझ क्रान्तिकारी बनाउँदै लैजान सकिने प्रचण्डको भनाइ छ ।

‘हामीले विचारलाई राम्रो गर्न सक्दा नेपालको कम्युनिष्ट र राजनीतिक आन्दोलन मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पनि ठूलो योगदान गर्न सक्ने सम्भावना हाम्रो पार्टीसँग छ । तर त्यसो गर्न सकिएन भने विसर्जन र विघटन र भूमरीमा पर्नसक्ने खतरा छ । त्यसो गर्न दिदैनौं’ प्रचण्डले प्रतिबद्धता जनाए ।

उनले पार्टी प्रवृत्ति र एकतालाई बढवा दिँदै विभाजन टुटफुटलाई निरुत्साहित गरिने पनि बताए । ‘कम्युनिस्ट आन्दोलनका सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गर्ने हो । त्यसको आवश्यकता छ । केन्द्रीय कमिटी बैठकले पनि एकताको झण्डा उठाउने संकल्प गरेका छौ ।

विभेदको अन्त्य र वैदेशिक हस्तक्षेपविरुद्ध झण्डा उठाएर समाजवादका लागि लड्ने हो । क्रान्ति एउटा लामो सिद्धान्त हो’ प्रचण्डले भने, ‘तर यसबारे संश्लेषणमा ध्यान कम गएको छ । व्यक्तिवादी धेरथोर हामी सबै भएका छौ, सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । सिद्धान्त, निष्ठा र वर्गप्रति समर्पित पार्टी हो, यसको सिद्धान्त अरूसँग मिल्दैन ।’

प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण पनि गरे । ‘क्रान्तिकारीहरुले संकल्प गरेपछि हुँदोरहेछ भन्ने अहिलेको उदाहरण हो । प्रतिगमन सच्चिएको छ । तर अन्तिम विजय होइन । लामो छ यात्रा र लडाई’ प्रचण्डको भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७