असफल अफ्गान सरकार, कमजोर सेना


२ भाद्र २०७८, बुधबार
Prem ale 1536x1536 1

अमेरिकी नेतृत्वले अफगान राष्ट्रिय फौज तालिबानी बिद्रोह दबाउन मजबुत रहेको जुन आंकलन गरेको थियो, त्यो गलत साबित भयो । बिद्रोही फौजले गत २–४ हप्ताभित्र एकपछि अर्को गर्दै देशको प्रमुख शहरहरु आफ्नो कब्जामा ल्याउन सकेकोबाट यो प्रमाणित हुन्छ ।

Taliban capture the president palace

सरकारमा कमजोर नेतृत्व भए जस्तै राष्ट्रिय सेनामा पनि कमजोर नेतृत्व भएको यसबाट पुष्टि हुन्छ । राष्ट्रिय सेनामा करिब ३ तीन लाख ५२ हजार सेना थिए । यसको आफ्नै बिशेष फौज पनि थियो र अमेरिका त्यहाँ हुँदासम्म त्यहाँको ९९ प्रतिशत फौजी कारबाही यिनीहरुले नै गर्दै आएका थिए । यद्दपि यी अमेरिकी तालिम प्राप्त, आधुनिक हातहतियारले सुसज्जित सेना तालिबानी बिद्रोहीका सामु आत्मसमर्पण गर्न पुगे । किनभने यी सेना ‘तलबका लागि’ मात्र थिए । उनीहरुको मनोबल बलियो थिएन । यिनको भित्री मनले आफ्नै ‘ब्रदर’ हरुसँगत लड्न चाहेको थिएन ।

सन् २०२१ मार्चमा मात्र अमेरिकी गुप्तचरले बाइडेन प्रशासनलाई ‘तालिबानहरुले २–३ बर्षभित्र देशको सम्पूर्ण भूभाग कब्जा गर्न सक्ने’ चेतवानी दिएको थियो । यस्तो भन्दाभन्दै पनि अमेरिकाले किन आफ्नो फौज फिर्ता बोलायो ? यो गम्भीर प्रश्न छ । यसमा अमेरिकी जनताको दबाब र राष्ट्रिय राजनीतिले काम गरेको छ । हरेक चुनावमा ‘सेनालाई फिर्ता बोलाउने’ कसम खाएका अमेरिकी नेतृत्वलाई आफ्नो सेना जसरी पनि फिर्ता गर्नुपर्ने बाध्यता थियो । अनि हतारमा यसो गर्‍यो जुन गलत साबित भयो ।

asraf ghani LyTuDuLi7v

तालिबानी सत्ताच्यूत भएपछि अमेरिकी गठबन्धनले आफ्नो छनौटको नेतालाई राजनैतिक नेतृत्वको लागि अघि सार्‍यो । अप्रत्यक्ष रुपमा उसलाई सरसहयोग गरेर सरकारमा स्थापित ग¥यो । फलस्वरूप सरकार कमजोर रह्यो । जनताको आकांक्षा अनुसार सरकारले काम गर्न सकेन । भ्रष्टाचार मौलायो । २० बर्ष हुँदासम्म पनि सरकारले बिद्रोही समूहसँग फलदायी बार्ता गरेर मेलमिलापको राजनीति अंगीकार गर्न सकेन । जसले गर्दा बिद्रोही समूहप्रति जनताको सहानुभूति बढेर गयो ।

जातीय द्वन्द्व, बिभाजित राष्ट्र

अफगानिस्तानको नेतृत्वको अर्को कमजोरी आन्तरिक जातीय आयामलाई आत्मसात गर्न नसक्नु पनि हो । पाश्तुन र अल्पसंख्यक ताजिक, हजारा र उज्बेकबीचको द्वन्द्व र आन्तरिक कलहलाई प्रान्तीय तथा केन्द्रीय सरकारले समयमै सम्बोधन गर्न सक्नु पर्दथ्यो । त्यो गर्न पनि सरकार चुक्यो । यी जातिहरु बिभाजित भई रहे, जसको फाइदा तालिबानीलाई भयो ।

‘अफगान सेनाले आफ्नो देशको लागि आफै लड्न सक्नुपथ्र्यो । तर किन लडेनन् भन्ने कुरा हामीले खोजिराखेका छौं’, अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो पटक आएको यो भनाईबाट पनि पुष्टि हुन्छ कि आखिर अमेरिकी नीति असफल भयो । उनीहरुले केहि लडाई जिते होलान् । तर युद्ध रणनीतिमा मज्जाले हारे । होइन भने ‘मजबुत बनाइएको’ राष्ट्रिय सेना अन्ततगोत्वा तालिबानी बिद्रोही सेनाँग किन एकाएक समर्पण गर्न पुग्थ्यो ? अफगानिस्तानको बहुसंख्यक जनताको मनमस्तिष्क आखिर स्थानीय बिद्रोहसँग किन जोडियो ? यसको एउटै सन्देश हो–देश निर्माण आफैंले गर्नु पर्दछ । धार्मिक मूल्य र मान्यता अरुले सिकाएर ‘राम्रो’ हुने होइन । परिबर्तन आफैंभित्रबाट आउन सके मात्र दिगो हुन सक्दछ ।

तालिबानको भविष्य र विश्व शान्ति
अबको तालिबानी सरकार कस्तो बन्दछ ? विश्व शान्तिमा अफगानिस्तानको कस्तो भूमिका रहन्छ ? यो हेर्न–बुझ्न केहि बर्ष पर्खनु पर्दछ । तर तालिबानीहरुको पृष्ठभूमि, धार्मिक मूल्य–मान्यता र बदलिँदो बिश्व राजनीति हेर्दा केहि अनुमान गर्न सकिन्छ ।

पहिलो–अमेरिकी र पश्चिमेली देशहरुले भने जस्तो तालिबानी नेतृत्व कट्टरपन्थी, अनुदारबादी र अलोकतान्त्रिक मात्र रहन सक्दैन । नयाँ पुस्ताका नेताहरु र छिमेकी राष्ट्रहरुको दबाव र प्रभावका कारण उनीहरु परिबर्तित बिश्व परिस्थितिमा समाहित हुन बाध्य हुनेछन् । दोस्रो–अमेरिकाले अफगानिस्तानमा त्रिलियन डलरभन्दा बढी लगानी गरेर राष्ट्र निर्माणको जग बसाली दिएको छ । यो उनीहरुका लागि अघि बढ्ने अवसर हुन सक्दछ ।

तेस्रो–तालिबान सरकारलाई पाकिस्तान, चीन, रुस तथा अन्य छिमेकी मुलुकहरुले स्वीकार तथा मान्यता दिना साथ पश्चिमेली देशहरुलगायत संयुक्त राष्ट्र संघलाई मान्यता दिन बाध्य बनाउनेछ । त्यसैले आशावादी बनौं, तालिबान सरकारले आउने दिनहरुमा मानवअधिकार तथा महिला अधिकारको सम्मान गर्दै, जनभावना अनुसार काम गर्नेछ । अमेरिका तथा पश्चिमेली देशहरुले उनीहरुमाथि लगाएको आतंककारीको ‘ट्याग’ हटाउनेछ र उनीहरु विश्व शान्तिको एउटा महत्वपूर्ण हिस्सा बन्ने छन् । यो नै सबैको जीत हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७