माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिन्ह ‘खुला किताब’

दल दर्ताका लागि निर्वाचन आयोज जाने तयारी


२ भाद्र २०७८, बुधबार
Madhav Nepal ex PM scaled

काठमाडौं, २ भदौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको नाम ‘एमाले समाजवादी’ राख्ने भएको छ । नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिन्ह टुङ्गो लगाएको हो ।

नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिन्ह खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । पार्टीको नाम र चुनाव चिन्हबारे विभिन्न विकल्पमा छलफल भए पनि अन्तिममा एमाले समाजवादी राख्ने र खुला किताब चुनाव चिन्ह राख्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।

नेपाल पक्षले कम्तिमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ । पार्टीको नाम, विधान, प्रस्तावना यसअघि नै टुंगो लगाइसकिएको छ । नेपाल समूहको पार्टी दर्ता भएपछि सरकारमा जाने तयारीमा छ । २०५४ सालमा विभाजित भएको एमाले ०५६ मा एक भएको थियो ।

यसपालि एमाले फुटाउँदा नेपाललाई आफ्नै समूहका दोस्रो पुस्ताका नेता कार्यकर्ताले साथ नदिने देखिएको छ । तेस्रो पुस्ताका युवा नेता कार्यकर्ताको समर्थनमा नेपालले नयाँ पार्टी बनाउन लागेका हुन् । कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै आएका नेपालले पहिलो पटक संस्थापनका बिरुद्ध विद्रोह गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७