जीता नदीको पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न


२ भाद्र २०७८, बुधबार
duban

सप्तरी, २ भदौं । जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई / तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।

तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताए ।

एक्कासी पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर भागा–भाग भएको सरदारको भनाइ छ । बाढी बस्तीमा आएसँगै सर्पको बिगबिगी समेत बढेको पीडितले बताएका छन् । पानी घरमा छिरेकाले सर्प घरभित्र आउन थालेको स्थानीयवासी श्याम दासले बताए । जीता नदीको बाढीले १५० घर डुबानमा परेपछि बाढीपीडित हाल गाउँका उच्च स्थानको खोजी गरी बसेका छन् । बाढीले पुयाएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाउँदै मानवीय क्षति भने नभएको गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाले बताए ।

बाँध भत्किएर बाढी बस्तीतर्फ छिरेपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेर जानकारी लिएका छन् ।
अध्यक्ष सिंहले बाढी प्रभावितको व्यवस्थापन, राहत, उद्धारको कार्य तत्काल शुरु गरिएको बताए ।

बाढीले आधा दर्जन घर भत्किएर पूर्ण रुपले क्षति भएको छ भने अन्य घरमा पनि कटान सुरु भएको पीडितले बताएका छन् । बाढीले एक्कासी धार परिवर्तन गर्दा गाउँपालिकाका सयौं बिघा धानबालीमा समेत क्षति पुगेको स्थानीयवासीले जनाएका छन् । बस्ती नै डुबान भएपछि पानीको स्रोत ट्युबवेल तथा इनार डुबेकाले खानेपानीको चरम अभाव भएको पीडितको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७