अमेरिकासहित पश्चिमा देशहरुको संयुक्त वक्तव्य : अफगान महिलाको अधिकारप्रति चिन्ता व्यक्त


३ भाद्र २०७८, बिहीबार
Women of Afghanistan jv1X5M3Afw

काठमाडौं, ३ भदौं । अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता नियन्त्रणमा लिएपछि महिलाहरूको अधिकारलाई लिएर चासो व्यक्त हुन थालेको छ । अफगानिस्तानमा महिलाहरुको अधिकार कटौती हुने हो कि भनेर पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका हुन् ।

अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले बुधबार संयुक्त रूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरूको अधिकार कुण्ठित हुने आशंका व्यक्त गरेका छन् ।

उनीहरूले महिला तथा बालिकाहरूको अधिकार सुनिश्चित गर्न पनि सरोकारवालाहरूलाई आग्रह गर्दै ध्यानाकर्षण गराएका छन् । ‘हामीलाई परिवर्तित अवस्थामा अफगानिस्तानका महिला र बालिकाहरूको अधिकार कुण्ठित होला कि भन्ने चिन्ता छ, त्यसतर्फ हामी विषेश ध्यानाकर्षण गराउन चाहन्छौँ,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

उनीहरूले विषेश गरेर अफगानी महिलाहरूको शिक्षा, काम गर्ने स्वतन्त्रता, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने अधिकारलगायतका विषयमा चासो राखेका छन् । अमेरिका, युरोपेली मुलुकसँगै अल्बानिया, अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चिली, कोलम्बिया, कोस्टारिका, इक्वेडर, होन्डुरस, ग्वाटेमाला, न्यूजिल्याण्ड, नर्वे, पाराग्वे, सेनेगल, स्विट्जरल्याण्डलगायतका देशहरूले अफगान महिलाहरूको अधिकारप्रति चिन्ता व्यक्त गरेका हुन् ।

तालिबानहरूले चलाउन थालेको शासनमा महिलाहरूलाई गर्ने व्यवहार कस्तो हुनेछ, अधिकार र स्वतन्त्रताप्रतिको उनीहरूको दृष्टीकोण र व्यवहारका बारेमा आफूहरूले नजिकबाट नियालिरहेको पनि ती देशहरूले जनाएका छन् । तालिबान विद्रोहीले अघिल्लो शासनकाल र युद्धकालमा महिला अधिकार र स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७