मध्यराति पहिरोले घर पुर्दा दुई बच्चासहित आमाको मृत्यु, एक बालक बेपत्ता


३ भाद्र २०७८, बिहीबार
rolpa pahiro1624434570

रसुवा, ३ भदौं । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजी भइरहेको छ ।

‘श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ, अर्को एक जनाको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले भने । पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आशिष घलान पुरिएका थिए ।

श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न शुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घटना आज बिहान करिब साढे ३ बजेतिरको हो । ‘ठूलो आवाज आएपछि छिमेकी हेर्न जाँदा पहिरोले घर पुरिएको देखिएको, त्यहीं नजिकै श्यामबहादुर फेला परेका थिए’, स्थानीयको भनाइ उद्धृत गर्दै डिएसपी पाण्डेले भने । श्यामबहादुरलाई उपचार गर्न पठाएपछि स्थानीयको सहयोगमा सेना र प्रहरीको टोली अन्यको उद्धारमा खटिएका थिए । घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फ ठूलोभोर्ले र धुसेनी गाउँको बीचमा पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७