कहाँ–कहाँ छ आज बाढीको जोखिम ?


३ भाद्र २०७८, बिहीबार
badhi 3

काठमाडौं, ३ भदौं । देशभर फेरि मनसुन सक्रिय भएको छ । आज (बिहीबार) देशका पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकालीका सहायक नदीहरूमा बहाव केही बढ्ने छ । मझौला नदीहरु कन्काई, कमला, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

यसैबीच, दोर्दी, न्यादी, चेपेलगायत नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय तथा डुबान भइरहने क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क हुन आग्रह गरिएको छ । लमजुङको खुदीबजार, बेशीसहर र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएका कारण नदीमा आकस्मिक बाढी आउन सक्ने र डुबान तथा कटान हुन सक्ने सम्भावना रहेकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रदेश–१ को इलाम, झापा, पाँचथर, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङगा, खोटाङ, भोजपुर तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट भएर बग्ने नदी खोलामा पानीको बहाव बढ्ने छ । गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, नवलपुर, बाग्लुङ तथा लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, रुकुम, रोल्पा भएर बग्ने नदी तथा खोलामा आज पानीको बहाव बढ्ने छ ।

कर्णाली प्रदेशको सुर्खेत, कालिकोट, जाजरकोट, दैलेख, सल्यान, जुम्ला, रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, अछाम, डोटी, बझाङ, दार्चुला, बाजुरा र आसपासका जिल्ला भएर बहने नदी तथा खोलामा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने विभागको पूर्वानुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७