१६ वर्षीया प्रियंकाको बलात्कारपछि हत्या आशंका, गाउँकै दुई किशोर पक्राउ


३ भाद्र २०७८, बिहीबार
priyanka
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सर्लाही, ३ भदौं । सर्लाहीको लालबन्दीमा दुई दिनअघि मृत भेटिएकी एक किशोरीको हत्या भएको खुलेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ ।

गएको साउन ३१ गतेदेखि हराइरहेकी लालबन्दी नगरपालिका–१७ रानीगञ्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रियंकाको शव गएको मंगलबार स्थानीय खोलामा फेला परेको थियो । खोलाको बगरमा खाडल खनेर गाडेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएपी माधव बुढाथोकीले बताएका छन् । घरदेखि करिव ३ किलो मिटर टाढा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको बगरमा उनको शव फेला परेको हो । किशोरी बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफन्त र स्थानीयले दुई दिनपछि खोलामा किशोरीको शव फेला पारेका थिए ।

किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–१७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई पक्राउ गरेको छ । ‘उनीहरुले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारी सकेका छन्,’ डिएसपी बुढाथोकीले भने, ‘उनीहरुले नै किशोरीको शव गाडेको ठाउँ हामीलाई देखाएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।’

स्थानीयले किशोरीको बलात्कारपछि हत्या भएको आशंका व्यक्त गरेका छन् । तर प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन । ‘हामी हत्याको कारण खोजिरहेका छौं । सबै कोणबाट अनुसन्धान भइरहेको छ,’ डिएसपी बुढाथोकीले भने । किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । पक्राउ परेका दुबै किशोरलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाको बास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।

प्रियंकाको हत्याको विरोधमा बुधबार स्थानीयवासीले लालबन्दीमा सडक अवरुद्ध गरेका थिए । ईलाका प्रहरी कार्यालय अगाडि भेला भएर स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । किशोरीका बुवा राजनले पक्राउ परेका दुई किशोरविरुद्ध जबरजस्ती करणी र हत्या अभियोगमा कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । उनीहरुलाई बुधबारै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७