संकटमा मुख्यमन्त्री शेरधन राई, नयाँ सरकार गठनको तयारीमा गठबन्धन


३ भाद्र २०७८, बिहीबार
Sherdhan Rai

काठमाडौं, ३ भदौं । नेकपा एमाले विभाजनको असर प्रदेश सरकारहरुमा देखिन थालेको छ । नेकपा एमाले विभाजनसँगै प्रदेश–१ को सरकार धरापमा परेको छ । अब कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एमाले समाजवादीका नेताहरु बताउँछन् ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश–१ मा नेकपा एमालेका ५१ सदस्य छन्, जसमध्ये १९ जना माधवकुमार नेपाल समूहमा थिए । तर भीम आचार्य र जीवन घिमिरेसहित केही सांसदले नेपाल समूह छाडेका छन् । तर अझै प्रदेशसभाका १५ जना प्रदेशसभा सदस्य आफूहरुसँग रहेको नेताहरु बताउँछन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउँछन् । एमाले समाजवादीका नेताहरुको दाबी गरे जस्तो १५ सांसदले नयाँ पार्टी रोजे नयाँ सरकार सुनिश्चित हुन्छ ।

एमाले समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजेन्द्र राई पार्टी विभाजनको प्रक्रिया सकिएपछि प्रदेशमा गठबन्धनको नयाँ सरकार बन्ने बताउँछन् । ‘पार्टी विभाजनपछि सरकारले विश्वासको मत लिनुपर्छ, नलिए अविश्वासको प्रस्ताव जानसक्छ,’ नेता राई भन्छन्, ‘गठबन्धन सरकार बन्छ ।’
मुख्यमन्त्री शेरधन राई अल्पमतमा, अब को बन्लान् नयाँ मुख्यमन्त्री ?
हाल प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ५१ सांसद छन् । कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक हुन्छ । तर, माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एमालेका ५१ मध्ये १५ सांसद सामेल भएका छन् । योसँगै एमालेमा अब ३६ सांसद मात्र सीमित रहने छन् । एमालेलाई बहुमतका लागि थप ११ सांसद आवश्यक हुने देखिन्छ । विद्यमान समीकरणमा एमालेलाई बहुमतको अंक गणित जुटाउन निकै कठिन देखिन्छ ।

नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीमा प्रदेश–१ का प्रदेशसभा सदस्यहरू लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी र कृष्णकुमारी राई सामेल छन् ।

एमाले विभाजनपछि प्रदेश सभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, नवगठित एमाले समाजवादीका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १-१ जना सांसद छन् ।

नयाँ सरकार बनाउनका लागि कांग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ सांसद पुग्छन् । यसकारण यही गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । गठबन्धनको नयाँ सरकार बन्दा मुख्यमन्त्री को हो भन्ने चर्चा शुरु भएको छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र एमाले समाजवादीका नेता राजेन्द्र राई सम्भावित उम्मेद्वार देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७