नेपालसहित १४ सांसदलाई तत्काल कारवाही गर्न सभामुखलाई ओली पक्षको दवाव


३ भाद्र २०७८, बिहीबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, ३ भदौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्ना सांसदको कारबाही प्रक्रिया चाँडो अघि बढाउन सभामुख अग्नीप्रसाद सापकोटामाथि दबाब शुरु गरेको छ ।

एमालेका प्रमुख सचेतकसहित १४ नेताले सभामुख अग्नीप्रसाद सापकोटासँग भेट गरी माधवकुमार नेपालसहितका १४ सांसदमाथिको कारबाही तत्काल अघि बढाउन आग्रह गरेका हुन् । उनीहरूले नेपाललाई नेकपा एमालेको केन्द्रीय समितिले कारबाही गरिसकेको भन्दै त्यसको कार्यान्वयनमा ढिलाइ नगर्न दबाब दिएका हुन् । गएको मंगलबार एमालेले नेपासहितका १४ सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । त्यसको बोधार्थ एमालेले निर्वाचन आयोगमा समेत गराइसकेको छ ।

तर, माधव नेपालको नेतृत्वमा बुधबार नै निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन पुगिसकेको छ । राजनीतिक दल फुटाउने प्रयोजनका लागि संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पर्याप्त हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि नेपाल पक्षले नयाँ दल दर्ताको प्रक्रिया थालेको हो । त्यो प्रक्रिया असफल पार्न र उनीहरूको सांसद पद रिक्त पार्न एमाले सांसदहरूले दबाब अभियान थालेका हुन ।

प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा पूर्वगृहमन्त्री तथा सांसद खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेत, निरुदेवी पाल, पार्वती गुरुङ, भगवती न्यौपाने, शान्ता गुरुङसहितका ओलीनिकट सांसदहरू बिहीबार सभामुखको कार्यकक्ष पुगेका हुन् । उनीहरूले सवा एक घण्टा सभामुखसँग कुराकानी गरेका थिए । सभामुले भने विधि, प्रक्रियाअनुसार आफूले निर्णय गर्ने जवाफ दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७