रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा


३ भाद्र २०७८, बिहीबार
Chandragiri Hills iRz7p5Ojff

काठमाडौं, ३ भदौं । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालनमा ल्याइएको हो ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले कोरोनाका कारण पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसकेपनि चन्द्रागिरि हिल्स रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर केवलकार सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘आठ जना अट्ने केवलकारमा स्वास्थ्य मापदण्डलाई पालना गर्दै चार जनासम्म आवतजावत गर्ने गरी केवलकार सञ्चालनमा ल्याएका छौँ,’ उनले भने ।

१०० कोठा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा अहिले दैनिक ४० देखि ५० कोठा पाहुनाले भरिँदै आएका छन् । थानकोटदेखि चन्द्रागिरिसम्म केवलकारको दुरी साढे दुई किलोमिटर छ । गत वर्ष झण्डै ६ महिना बन्द रहेको केवलकार यो वर्ष झण्डै चार महिना बन्द रह्यो । काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने चन्द्रागिरिमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुका साथै भालेश्वर महादेवको मन्दिरसमेत निर्माण गरिएको छ ।

मन्दिरको अलावा तीन तले भ्यू टावर समेत बनाइएको छ । चन्द्रागिरि हिल्ससम्म जान आउनका लागि रु ७०० लिइँदै आएको छ । चन्द्रागिरि केवलकारमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७