बझाङमा पहिरोले दुई घर पुर्‍यो, सानीगाड खोला थुनियो


४ भाद्र २०७८, शुक्रबार
Bajhang Sanigad Khola

बझाङ, ४ भदौं । बझाङको बुंगल नगरपालिका–६ र ७ मा पर्ने आठपालिचौर झारकाँडामा पहिरो जाँदा सानीगाड खोला थुनिएको छ । शुक्रबार बिहान ११ बजे गएको पहिरोले खोला थुनिएको जिल्ला प्रहरी कार्यलय बझाङले जानकारी दिएको छ ।

बिहीबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोले दुई घर समेत पुरेका छन् । पहिरोले बुंगल नगरपालिका–६ का स्थानीय बले धामी र नरेन्द्र धामीको घर पूर्ण रूपमा क्षति भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

पहिरोबाट मानवीय क्षति भने भएको छैन् । बले धामीका तीन भैंसी, तीन गोरु, सात बाख्रा, लत्ता कपडा, खाद्यान्न पुरेको छ । यस्तै नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाई पहिरोमा परेर मरेको डीएसपी खड्काले बताए । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरी र नेपाली सेनासहितको टोलीले थुनिएको खोला खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए । खोला थुनिएपछि तटीय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । अहिले एक छेउबाट खोला बग्न थालेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७