एमाले सांसदहरूको व्यवहार अमर्यादित : सभामुख


४ भाद्र २०७८, शुक्रबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, ४ भदौं । सभामुख अग्नि सापकोटाले नेकपा एमालेका सांसदहरु बिहीबार संसदीय मर्यादा नाघेर प्रस्तुत भएको टिप्पणी गरेका छन् । आफू निकटहरूसँगको परामर्शमा सभामुख सापकोटाले एमाले सांसदहरू आफ्नाे कार्यकक्षमा आएर अमर्यादित, असंसदीय रुपमा प्रस्तुत भएको बताएका छन् ।

सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले सभामुखले आफूमाथि गरिएको व्यवहार अमर्यादित र संसदीय चरित्रको नभएको बताएको जानकारी दिए । बिहीबार एमालेका माधव नेपालसहितका १४ नेतालाई छिटो पदमुक्त गनुपर्ने भन्दै एमाले सचेतक विशाल भट्टराईसहित १४ नेता सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबार पुगेका थिए ।

बिहीबार विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टाको अवधिमा उनीहरुले सभामुख सापकोटालाई तत्काल कारवाही प्रक्रिया नगरे बल प्रयोग गर्न बाध्य हुने जस्ता चेतावनीपूर्ण शब्द प्रयोग गरेको जनाइएको छ । ‘एमालेका नेताहरुले सभामुखमाथि हिजो गर्नु भएको व्यवहार शोभनीय भएन,’ न्यौपानेले भने, ‘सभामुख जस्तो सम्मानित व्यक्तिमाथि गरिएको असंसदीय, अमर्यादित व्यवहार, शब्द चयनले सीमा नाघेको महसुस भएको छ ।’ प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजै दिएको अभिव्यक्ति समेत मर्यादित नभएको उनले बताए ।

‘प्रमुख प्रतिपक्षी दलका नेताले दिनु भएको असंसदीय र अमर्यादित अभिव्यक्तिले वातावरण बिगार्न उद्दत रहेको देखिन्छ,’ न्यौपानेले भने । सभामुख सापकोटालाई आज पनि माधव नेपालसहितका १४ नेतामाथि कारवाही प्रक्रिया छिटो अघि बढाउन माग गर्दै सचेतक शान्ता चौधरी, महेश बस्नेतसहितका टोली सिंहदरबार पुगेको थियो । तर सभामुख सापकोटा नआएपछि उनीहरु फर्किएका छन् । ‘आज सभामुखको निर्धारित कार्यक्रम थियो, त्यसैले उक्त समयमा उहाँ सिंहदरबार नजानु भएको हो,’ न्यौपानेले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७