लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न सीमाविद् बुद्धिनारायण श्रेष्ठको आग्रह


४ भाद्र २०७८, शुक्रबार
BUddhi narayan3
फाइल फोटो

काठमाडौं, ४ भदौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

आज (शुक्रबार) आफ्नो पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे पनि हालसम्म सो क्षेत्रसहितको भूभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन् । चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए ।

उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि. थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । श्रेष्ठले लेखेको पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकमा नेपालको सीमानाको साथसाथै अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको अध्ययनबाट हासिल गरेका अनुभव र पाएका शिक्षाहरुको सम्बन्धमा पनि उल्लेख गरिएको छ ।

नेपाल–भारतमा भएका सीमा समस्या, सीमा अध्ययन गर्न जाँदा आफुले भोगेका अनुभूतिहरु समेत पुस्तकमा उल्लेख गरिएको उनले जानकारी दिए । नेपालको नक्साको द्वन्द्व, चुच्चे नक्सा लगायतका सीमा मामिलाको सम्बन्धमा विदेशीले पनि बुझून् भन्ने उद्देश्य साथ पुस्तक अंग्रेजी भाषामा लेखिएको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७