एकताका पक्षमा दबाब दिने नै दबाबमा


५ भाद्र २०७८, शनिबार
UML leaders

काठमाडौं, ५ भदौं । नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ ।

पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका छन् । तर, एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथ दिँदै आएका प्रभावशाली नेताहरूले नयाँ दल दर्ता प्रक्रियामा भने उनलाई साथ दिएका छैनन् ।

ती नेताहरू पार्टी एकताको पक्षमा भन्दै ओली र नेपाल दुवै पक्षबाट अलग देखिएका छन् । ओली र नेपाल दुवैले आ–आफ्नो बाटो समाउने तयारी गरेपछि थप दबाबमा परेका उनीहरूले शुक्रबार राजधानीमा भेला गर्दै पार्टी एकताका लागि दबाब बढाएका छन् ।

उनीहरूले अध्यक्ष ओलीलाई नेपालसहित प्रतिनिधिसभाका १४ सदस्यमाथि कारबाहीका लागि गरिएको सिफारिस फिर्ता लिएर विवाद समाधानका लागि १०बुँदे समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । नेता नेपाललाई पनि नयाँ पार्टी दर्ताको प्रक्रिया स्थगन गरेर एकताको पक्षमा आउन उनीहरूले आग्रह गरेका छन् ।

केन्द्रीय कमिटीका सदस्य र सांसदको भेलाले दुई दिनभित्र १० बुँदे समझदारी अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको छ । १० बुँदेसँगै सहायक डकुमेन्टका रूपमा माइन्युट गरिएको जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘त्यसअनुसार तत्काल २०७५ जेठ २ गतेअघिको स्थायी कमिटीको बैठक बोलाएर १० बुँदे समझदारी अनुमोदनपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्य थप गरेर अर्को बैठक बोलाउनु पर्छ ।’

तर, अध्यक्ष ओलीले दुई दिनभित्र १० बुँदे समझदारी कार्यान्वयन गर्ने सम्भावना कम रहेको उनीहरूको बुझाइ छ । त्यसमा पनि २०७५ जेठ २ गतेअघिको स्थायी कमिटी बैठक बोलाएर उनीहरूले भनेजस्तो पार्टी एकता जोगाउन अध्यक्ष ओली लचिलो नबने असन्तुष्टभित्रका पनि असन्तुष्ट नेताहरू थप दबाबमा पर्ने एक नेताको बुझाइ छ ।

‘दुवै नेताहरू (ओली र नेपाल) ले आआफ्नो बाटो समाइसक्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘दुवै आआफ्नो अडानमा अडिए पार्टी एकताको पक्षमा कहिलेसम्म कराउने, हाम्रा लागि पनि चुनौती छ ।’

अध्यक्ष ओलीले १० बुँदे समझदारीको जगमा नेता नेपाल र नयाँ पार्टी दर्ता प्रक्रियामा सहभागी नभएका नेताहरू सबैलाई एमालेमै रहनका लागि एक पटक ढोका खोल्नुपर्छ भन्ने आफूहरूको बुझाइ रहेको ती नेताले बताए । तर, अध्यक्ष ओली त्यति लचकताका साथ प्रस्तुत हुने सम्भावना नरहेको विश्लेषण सुनाउँदै ती नेताले भने, ‘हामीलाई फेस सेभिङका लागि अध्यक्ष ओलीले कुनै पनि बाटो दिनुभएन भने त्यो पार्टीमा बस्नुको कुनै अर्थ हुँदैन ।’

पार्टी एकताको पक्षमा उभिएका नेताहरूले पनि त्यसपछि नेता नेपाललाई साथ दिनुपर्ने वा अर्को विकल्प खोज्नुपर्ने अवस्था आउने बताउँदै ती नेताले थपे, ‘आगामी साताभित्र हामीले पनि हाम्रो बाटो स्पष्ट गर्नुपर्ने अवस्था छ ।’

महाराजगन्जस्थित पाटी प्यालेसमा भएको भेलाले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ । भेलापछि एमाले सचिव गोकर्ण बिष्टले कार्यदलले पार्टी एकताका लागि प्रस्ताव गरेको १० बुँदे समझदारी अक्षरशः कार्यान्वयन र एमालेलाई एकजुट गर्न आफूहरू लागिपर्ने बताए ।

पार्टी एकताका लागि नेपाललाई दल दर्ता निवेदन फिर्ता लिन लगाउने र अध्यक्ष ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने उनले बताए। ‘हामी केन्द्रीय कमिटीका सदस्य र सांसद गरी ५७ जनाको सहमतिबाट पार्टीमा उत्पन्न समस्या, समाधान, १० बुँदे सहमतिको कार्यान्वयन, यसबीचमा भएका विभिन्न कारबाही र अगाडिको बाटोको सम्बन्धमा गहन छलफल गरेका छौंं,’ उनले भने, ‘सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश कुनै हालतमा स्वीकार्य हुँदैन, त्यो खारेज गर्नुपर्छ ।’

भेलामा एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य र बिष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजी पन्तसहित ५७ नेता र सांसद सहभागी रहेको जनाइएको छ । भेलामा सहभागी ज्ञवाली, शाक्यसहितका अधिकांश नेताले विगतमा नेता नेपाललाई साथ दिएका थिए । तर, बुधबार एमालेबाट अलग हुँदै नेता नेपाल नयाँ दल दर्ता गर्न आयोग पुग्दा उनीहरू भने पार्टी एकताको पक्षमा उभिएका छन् ।

सनाखत गर्न आयोगले डाक्यो

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेताहरूलाई हस्ताक्षर सनाखतका लागि अर्को साता कार्यालयमा डाकेको छ । एमाले त्यागेर नयाँ दल दर्ता गराएका नेपाल र जनता समाजवादी पार्टी छाडेर नयाँ दल दर्ता गराएका ठाकुर पक्षका नेताहरूलाई सनाखतका लागि आयोगले यही भदौ ९ गते बिहान साढे ११ बजे कार्यालयमा बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अलगअलग दल दर्ताका लागि आवेदन दिएका नेता नेपाल र नेता ठाकुर पक्षलाई सनाखतका लागि बोलाइएको बताए । ‘उहाँहरूले दल दर्ताका लागि आयोगमा आवेदन दिँदा जजसले हस्ताक्षर गर्नुभएको छ, उहाँहरूको सनाखतका लागि बुधबार बिहान साढे ११ बजे आयोगमा बोलाएका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘सनाखत सकिएपछि हामीले आयोगमा पेस गर्छौं र सोही अनुसार आयोगले दल दर्ताको निर्णय गर्छ ।’

श्रेष्ठले दल दर्ताका लागि आयोगमा प्रस्ताव गरिएको नाम जुधेपछि नेपालले पार्टीको नाम बदलेर नेकपा एकीकृत (समाजवादी) बनाएका छन् । त्यस्तै ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी प्रस्ताव गरेका छन् । यसअघि नेपालले नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी (लोकतान्त्रिक) प्रस्ताव गरेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७