कक्षा १२ को परीक्षा सञ्चालन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना


५ भाद्र २०७८, शनिबार
FINAL.00 25 51 04.Still029 VUwjheGU9Y

काठमाडौं, ५ भदौं । प्रतिनिधि सभाका सांसदहरूले कक्षा १२ को परीक्षा अझै सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रवारको बैठकमा बोल्दै समितिका सदस्यहरूले दुई – दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।

सांसद जयपुरी घर्तीमगरले विना विकल्प कक्षा १२ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताउनुभयो । समितिका सभापतिसमेत रहनुभएकी उहाँले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको भनी सरकारलाई प्रश्न समेत गरे ।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटक–पटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए । उनले विद्यार्थीहरूलाई आतङ्कित पार्ने गरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा सङ्कट व्यवस्थापन (सीसीएमसी) ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गरे । कोरोनाको समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भए पनि परीक्षा सञ्चालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए । उनले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नुपरेको स्पष्टीकरण समितिमा दिएका थिए । उनले आफूहरू चरणबद्ध रूपमा भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्न तयार रहे पनि कोरोनाका कारण त्यसबाट पछि हट्ने परिस्थिति आएको बताए । प्रवक्ता शर्माले कोरोना सङ्कटकै कारण सीसीएमसीले आफूहरूलाई परीक्षा सञ्चालन गर्ने अनुमति दिन नसकेको पनि समितिलाई जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७