साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन


५ भाद्र २०७८, शनिबार
maldives 1628504458

काठमाडौं, ५ भदौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार निकालेको तालिकाअनुसार प्रतियोगिता अक्टोबर १ देखि १६ गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ मा खेल्ने छ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ मा प्रतिस्पर्धा गर्नेछन् ।

साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० मा हुनेछ । हाल बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७