बाकसमा आए २४ नेपाली


६ भाद्र २०७८, आईतवार
sab bidesha bata
फाइल फोटो

काठमाडौं, ६ भदौं । स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपुर्‍याइएको हो ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ । बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थु मात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिए ।

विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ?

रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् । पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकै पटक ल्याउने गरिएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७