फेसुबकमा ब्यर्थका पोस्ट बढी हेरिन्छन्


६ भाद्र २०७८, आईतवार
facebook
सांकेतिक तस्वीर

काठमाडौं, ६ भदौं । फेसबुकमाथि दक्षिणपन्थीका सामग्रीहरू बढी फैलाएको आरोप लगेपछि कम्पनीले आफ्नो प्लेटफर्ममा सबैभन्दा धेरै हेरिएका पोस्टहरू सार्वजनिक गरेको छ ।

तर, आश्चर्यजनक ! यसमा सबैले अपेक्षा गरेका राजनीतिक विषयवस्तु नभएर व्यर्थका प्रश्न गरिएका पोस्टहरूले फेसुबकमा सबैभन्दा बढी ‘भ्युज’ पाएको देखिएको छ । जस्तै, खानेकुरा ‘स्पागेटी’ मा चिनी हाल्नु ठिक हो कि होइन ? भन्नेजस्ता पोस्ट प्रयोगकर्ताहरूमाझ धेरै लोकप्रिय रहेको पाइएको हो ।

व्यक्तिहरूको न्युज फिडमा देखा पर्ने कन्टेन्टबारे फेसबुकको यो अहिलेसम्मकै पहिलो रिपोर्ट हो । रिपोर्ट अनुसार शब्दहरूमार्फत हाम्रो वास्तविकता देखाउने दाबी गरिएको ‘फर्स्ट थ्री वर्डस यु सी आर योर रियालिटी’ भन्ने पोस्ट २०२१ मा तीन महिनासम्म सबैभन्दा बढी हेरिनेमा शीर्ष स्थानमा रहेको थियो । सो पोस्टमा ११ लाख लाइक आएको छ भने ७० लाखभन्दा धेरैले कमेन्ट गरेका छन् । त्यसको सेयर पनि तीन लाख ९४ हजारभन्दा बढी छ ।

त्यस्तै, स्पागेटीमा चिनी हाल्नुपर्छ कि पर्दैन भन्ने बहसयुक्त पोस्ट पनि सूचीमा चौथोमा परेको छ, जसलाई पाँच करोड ८६ पटक हेरिएको छ भने ३८ लाखले कमेन्टमा बहस गरेका छन् । ‘म बूढो भइसकेँ तर पनि जवान नै छु’ भन्ने अर्को एउटा तस्बिर राख्ने च्यालेन्जमा पनि ५० लाखभन्दा धेरै प्रयोगकर्ता सहभागी भएको देखिएको छ ।

यसमा फेसबुक पेज ‘द टिपिकल मम’ मात्र यस्तो पेज थियो, जसका दुईवटा पोस्ट शीर्ष २० मा परेका थिए । तीमध्येको एउटा पोस्ट थियो, ‘२८ मा ४७ जोड्यो भने हाम्रो दिमागभित्र के हुन्छ ?’ यसरी सबैभन्दा धेरै हेरिएका र प्रयोगकर्ताले बढी अन्तरक्रिया गर्ने शीर्ष २० पोस्टहरू यस किसिमका व्यर्थका कम गुणस्तरीय प्रश्नहरू भएको रिपोर्टले देखाएको छ ।

रिपोर्टले यसमा कस्तो पोस्ट सबैभन्दा धेरै हेरिन्छन् र कस्ता पोस्टमा मानिस लाइक, कमेन्ट र सेयरमार्फत सबैभन्दा बढी सहभागी हुन्छन् भनेर छु्ट्ट्याउनमा पनि सबैको ध्यानाकर्षण गराउन खोजेको छ । यता, फेसबुकको अन्तरक्रिया मापन गर्ने अर्को टुल क्राउन ट्यांगलले संकलन गरेको डाटा भने फेसबुकको रिपोर्टभन्दा ठिक फरक छ । काउडट्यांगलले यसअघि फेसबुकमा दक्षिणपन्थी राजनीतिक सामग्रीहरू सबैभन्दा व्याप्त रहेको जनाएको थियो । तर, फेसबुकले यसलाई अस्वीकार गर्दै प्रयोगकर्ताले हेर्ने सामग्रीमा केबल ६ प्रतिशत मात्र राजनीतिक भएको दाबी गर्दै आएको छ ।

नयाँ रिपोर्ट सबैभन्दा बढी हेरिएको पोस्टमा केन्द्रित गराइएको छ, जसको सूचीमा सबै हानिरहित सामग्री मात्र छन् । शीर्ष २० का दुईवटा पोस्ट चाहिँ उल्लेखनीय रूपमा फरक रहेको पाइएको छ । यसमा छैटौं स्थानमा जो बाइडेनले पदभार गरेको १०० दिनमा उनले राखेको पोस्ट र दशौँ स्थानमा ‘फाइभ मिनेट क्राफ्ट्स’को पोस्ट थियो, जसमा ‘सानो प्याडलिङ पुल’ कसरी बनाउने भनेर सिकाइएको छ ।

त्यस्तै, सबैभन्दा बढी हेरिएका साइटहरूमा युट्युब, अमेजोन र बालबालिकाहरूको च्याटिरी युनिसेफ शीर्ष तीनमा परेका छन् । त्यस्तै, एबीसी न्युज, डेली मेल, एनबीसी न्युज, सीएनएन र सीबीएस पनि शीर्ष २० मा परेका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७