पति–पत्नीको झगडामा छिमेकीको हत्या


६ भाद्र २०७८, आईतवार
death

मोरङ, ६ भदौं । मोरङको मिक्लाजुङ गाउँपालिकामा पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ । पति–पत्नीबीचको झगडा मिलाउने क्रममा मिक्लाजुङ–७ भण्डारी टोलमा ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच भदौ ३ गते राति ८ः४० बजेतिर विवाद एवं झगडा भएको थियो । रविन आफ्नी पत्नी निरुतासहित मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा बस्दै आएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनीहरुबीच लामो समयदेखि पारिवारिक झैझगडा भइरहेको खुलेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार पत्नीसँग झगडा परेपछि रविनले भाइहरु ३० वर्षीय आइतराज र २६ वर्षीय सञ्जय तामाङलाई पनि बोलाएको पाइएको छ । उनीहरुबीच पारिवारिक झैझगडाका विषयमा छलफल भइरहेका बेला रविनका जेठान मिक्लाजुङ–६ का ४० वर्षीय भाग्य बम्जन (तामाङ) ले मिक्लाजुङ–७ का धनराज र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई लिएर पुगेको खुलेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनराज र दुर्गाबहादुर भाग्यले चलाएको फ्रेस हाउसमा त्यतिबेला मासु किन्न पुगेका रहेछन् । बहिनी–ज्वाईंको झगडा भइरहेको सुनेपछि मासु किन्न आएका छिमेकीलाई समेत लिएर भाग्य घटनास्थलमा पुगेको पाइएको श्रेष्ठको भनाइ छ । उनका अनुसार झगडा नगर्न एवं मिलेर बस्न पति–पत्नीलाई सुझाव दिएका धनराज र दुर्गाबहादुरलाई पारिवारिक कुरामा बाहिरका व्यक्तिहरु प्रवेश गरेको भन्दै रविन, आइतराज र सञ्जयले दाउराले कुटपिट गरेको खुलेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका धनराजलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो । उनको उपचारका क्रममा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ । आक्रमणमा परेर सामान्य घाइते भएका दुर्गाबहादुर उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रविन, आइतराज र सञ्जयलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरिसकेको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७