अमेरिकाले अफगान नागरिकको उद्धारका लागि गैरसैनिक विमानको पनि प्रयोग गर्ने


७ भाद्र २०७८, सोमबार
Aafagan1629690325

काठमाडौं, ७ भदौं । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको उद्धारमा संलग्न हुन गैरसैनिक विमानहरूलाई पनि निर्देशन दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जनाएको छ ।

आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सीआरएएफ अर्थात् सिभिल रिजर्भ एअरलिफ्ट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको थियो । यसले संकटको बेला अमेरिकालाई गैरसैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ । सीआरएफ क्रियाशील गराउँदा सैनिक विमानहरूलाई काबुलभित्र र बाहिरको कारबाहीमा सहयोग पुग्ने जनाइएको छ ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका हजारौँ अफगान नागरिकको उद्धारमा सहयोग गर्न यस्तो निर्देशन दिइएको हो । तर यी विमानहरू काबुलमा भने अवतरण गर्ने छैनन् ।अमेरिकाले अघिल्लो हप्ता झण्डै २८ हजार मानिसहरूको उद्धार गरेको जनाएको छ । यस्तै, बेलायतले अगस्ट १३ यता ५ हजार ७ सय २५ जनाको उद्धार गरेको छ ।

काबुल विमानस्थल बाहिर हजारौं लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एक जना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएको बीबीसीले जनाएको छ । सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैरसैनिक विमान खटाइएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७