काठमाडौं उपत्यकामा थपिंदै निषेधाज्ञा, कस्तो बन्ला ‘मोडालिटी’ ?


७ भाद्र २०७८, सोमबार
lock down

काठमाडौं, ७ भदौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएको छ । पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर बढ्दै गएसँगै निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

कोरोना संक्रमण नियन्त्रणमा आइनसकेको अवस्थामा पनि मानिसको गतिविधि लापरवाहपूर्ण नै रहेको जनाउँदै पुनः निषेधाज्ञा थप्नु पर्ने निष्कर्षमा आफूहरु रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

उनले विविध कारणले संक्रमण बढिरहेकाले निषेधाज्ञा थप गर्न लागिएको बताए । ‘पछिल्लो समय विविध कारणले संक्रमण बढिरहेको छ । मृत्युदर पनि उकालो लाग्दो छ । यस्तो अवस्थामा निषेधाज्ञा गरिएका क्षेत्रहरुमा खुलाउने कुरा हुँदैन’, प्रजिअ निरौलाले भने, ‘निषेध गरिएका क्षेत्रहरुमा निषेधाज्ञा यथावत नै रहन्छ । अन्य मोडालिटीबारे केही छलफल भएको छैन ।’

पछिल्लो साता थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो । संक्रमणदर बढेको भन्दै दोस्रो पटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको छ । प्रजिअ निरौलाका अनुसार अन्य मोडालिटी फेरबदलबारे छलफल भएको छैन । ‘आज सरोकारवाला निकायहरुसँग संक्रमणदर र मृत्युदरको समीक्षा गर्दैछौं । त्यसपछि तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअको बैठक बस्छ । त्यसपछि मात्रै निषेधाज्ञाबारे निर्णय हुनेछ’, प्रजिअ निरौलाले भने ।

पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ । निषेधाज्ञा सकिन एक वा दुई दिन अघि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७