म्याग्दीमा बाढीले एक घर बगायो, ४५ घर जोखिममा


७ भाद्र २०७८, सोमबार
badhi
फाइल फोटो

म्याग्दी, ७ भदौं । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज (सोमबार) बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर दूधेखोलामा आएको बाढीले कटान गरेर घर, सडक र खानेपानीको पाइप बगाउनाका साथै जोखिम बनाएको हो ।

वडा नं ३ भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीले बाढीले बगाएर दिपा पुनको घर पूर्ण क्षति भएको जानकारी दिए । ‘नारायण पुन र तिलाराम थापाका घर उच्च जोखिममा छन्’, उनले भने, ‘दूधेखोलाको दाँयाबायाँ किनारमा रहेका ४५ घरधुरी भएको बस्ती नै बाढीको जोखिममा परेको छ ।’ नारायणको गोठमा बाँधेको दुहुना भैंसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ ।

करिब सात सय मिटरको दुरीमा बाढीले बस्तीतर्फ कटान गरेको छ । कोप्रेतर्फ पनि कटानको जोखिम छ । बाढीका कारण बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका चार वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बरङजा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा भकिम्ली, सुर्केमेला, बास्कुना, थामडाँडा र बरङजा सिधायातायात सम्पर्क विच्छेद भएको छ । सो क्षेत्रका किसानलाई बेनीमा दूध ढुवानी गर्न समस्या भएको छ । खानेपानी र सिँचाइका पाइप बाढीले बगाएको छ । हल्लेगौँडाको पहिराका कारण दूधेखोला–हल्लेगौँडा–डाडाँखानी हुँदै भकिम्ली जोड्ने सडक गत जेठ देखि नै अवरुद्ध छ ।

दूधे खोलाको बाढीले म्याग्दी खोला बग्ने ठाउँलाई साँघुरो बनाउँदा तलाउ बनेको छ । तलाउका कारण चुत्रेनीमा डुबान र कटानको जोखिम बढेको छ । राति १ः ०० बजे भूकम्प जाँदाको जस्तो कम्पन आएपछि घर बाहिर निस्किँदा बाढी आएको देखेको र सुरक्षित ठाउँमा गएर रात कटाएको स्थानीयवासी ओमबहादुर घर्तीमगरले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७