लुम्बिनी प्रदेश सभा बैठकमा एमालेको अवरोध, सभा हलमा नाराबाजी


७ भाद्र २०७८, सोमबार
Lumbini prov uml protest

बुटवल, ७ भदौं । सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त नगरेको भन्दै एमालेले लुम्बिनी प्रदेश सभाको बैठकमा अवरोध सिर्जना गरेको छ । शाही र वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरेको र सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् ।

एमालेका सांसदहरूले सभामुखले स्वेच्छाचारी काम गरिरहेको भन्दै चर्को नाराबाजी गरिरहेका छन् । सांसद विमला वली र अजय शाहीलाई एमालेले आफ्ना सांसद भन्दै आएको छ भने विमला वलीले आफू माओवादीको सदस्य रहेको बताएकी छिन् । यस्तै अजय शाहीले आफू स्वतन्त्र सदस्य रहेको बताएका छन् ।

हिजो आइतवार लुम्बिनी प्रदेश सभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको थियो । एमालेले सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त गर्न सचिवालयमा पत्र पठाएकोमा सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।

प्रदेश सभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेश सभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भए पनि उनीहरूले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।

पत्रमा अजय शाही स्वतन्त्र समूहबाट चुनावमा सहभागी भएको र व्यक्तिगत विवरण पनि स्वतन्त्र समूहको तर्फबाट नै रहेको उल्लेख छ । नेकपाको तर्फबाट निर्वाचित विमला वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफू कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७