लुम्बिनीका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने


७ भाद्र २०७८, सोमबार
kul prasad kc

बुटवल, ७ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै (सोमबार) विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । तर लुम्बिनी प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।

सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन् । सो बैठकमा केही विधेयकहरु पेश गरी पुनः साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार अब साढे ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनेछन् । मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१ सांसदको समर्थन जुटाउनु पर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख वाहेक),जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सांसद रहेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्षी दल एमालेले स्वतन्त्र सांसद अजय शाही र माओवादी केन्द्र रोजेकी विमला वलीलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको थियो । तर सभामुख पूर्णबहादुर घर्तीले दुबै सांसद एमाले नभएकाले पदमुक्त गर्न अस्वीकार गरिदिएका छन् । एमालेले उनीहरुलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ ।

यस्तो छ प्रदेशसभाको कार्यसूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७