एक साता मनसुन सक्रिय रहने : यी स्थानमा भारी वर्षाको सम्भावना


७ भाद्र २०७८, सोमबार
raining

काठमाडौं, ७ भदौं । मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको सक्रियताले गएरातिदेखिनै देशका पहाडी भेगमा वर्षा हुनुको साथै हाल तराई क्षेत्रमा वर्षा भइरहेको छ । उक्त क्षेत्रमा आज दिनभर वर्षा हुनेछ ।

मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म वर्षा हुने मौसमविद् पौडेलले बताए । विशेषगरी राति र बिहानको समयमा वर्षा हुनेछ । दिउँसोतिर केही आकाश खुले पनि रातिको समयमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।

महाशाखाले आज जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको छ । प्रदेश नं १ वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित ‘चट्याङ’ र भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको छ । लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । भदौ ९ गते बुधबार पनि देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७